दाङ,माघ २६ । दाङको घोराही उपमहानगरपालिका वडा नं. २ गंगामावि रामपुरमा अध्यनरत एक केटा र केटीले एउटै हाँडामा झुण्डिएर आत्महत्या गरेका छन् । कक्षा ९ मा अध्यनरत १८ बर्षीय प्रदिप चौधरी र कक्षा ११ मा अध्यनरत १७ बर्षीया दीपा चौधरीले माघ २४ गते विहान गाउँकै बल्लामपुरस्थित बरको रुखको एउटै हाँगामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला पर्दा सारा गाउँले नै स्तव्ध बने । विद्यालयका दुई विद्यार्थी मृत्युको शोक मनाउन शुक्रवार विद्यालय विदा गरियो । उनीहरुले २३ गते राति नै त्यसरी आत्महत्या गरेको आशंका प्रहरीको छ ।
त्यो दृष्य देख्ने वडा अध्यक्ष केशव आचार्य लगाएत सबै गाउँलेका आँखा रसाए । ‘लाउलाउँ र खाउँ खाउँ भन्ने उमेरका केटा केटी संगै झुण्डिएर आत्महत्या गरेको देख्दा कस्को पो मन रुँदैन र,’ वडा अध्यक्षले भने ‘एउटै चुन्नी च्यातेर एउटै हाँगामा झुण्डिएर आत्महत्या गरेको त्यो हृदयविदारक घटनाले सारा गाउँले स्तव्ध छन्।’
प्रदिप र दीपा एउटै घर परिवार भित्रका सदस्य हुन । उनीहरुका बाजे दुई दाजुभाई फाटेका । प्रदिप गत वर्ष मात्रै स्थानीय नव चेतना वोर्डिङवाट गंगामाविमा कक्षा ९ मा भर्ना हुन गएका हुन । ‘उनीहरुको मृत्यु पछाडि हाडनाता भित्रकै माया प्रेम भन्ने अनुमान भइरहेको छ,’ वडा अध्यक्ष आचार्यले थपे ‘केटाकेटी दुबै एउटै परिवारको भएको हुँदा स्वीकादैनन् भन्ने सोचले आत्महत्या गरेको भन्ने अनुमान छ।’ उनीहरु बीचमा माया प्रेमको कुरा अभिभावकलाई पनि थाहाँ भएन । एउटै परिवार भित्रै त्यो शंका गर्ने कुरापनि ंहुन्न । समयमै थाहाँ पाएका भए अभिभावकले संझाउँथे होला ।
बल्लामपुरकै त्यही बरेको रुखको त्यही हाँगामा र त्यही विद्यालयमा अध्यन गर्ने सोही गाउँकै १८ बर्षीया किशोरी छोपन्या चौधरीले केही वर्ष पहिले झुण्डिएर आत्महत्या गरेकी थिइन ।
गंगा मावि रामपुरमा कक्षा ७ मा अध्यन गर्ने १५ बर्षीया डेली कँवर र कक्षा १० मा अध्यन गर्ने १७ बर्षीय रितेश कँवरले पनि गत कात्तिक २२ गते संगै विषादी सेवन गरेर आत्महत्या गरे ।
विद्यालयका प्रधानाध्यापक प्रधानाध्यापक शषिधर उपाध्यायले उनीहरु दुबै जनाले डेलीको घरमा कोकाकोलामा सल्फास नामक विषादी मिलाएर खाएर आत्महत्या गरेको भन्ने पोष्टमार्टम रिपोर्टमा देखिएको जानकारी दिए । डेलीको घटनास्थलमै कात्तिक २२ गते शुक्रवार नै मृत्यु भएको थियो भने रितेशको २३ गते बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा निधन भएपछि विद्यालयले २४ गते शोकमा विद्यालय वन्द गरेको थियो ।
कँवर द्धयले आत्महत्या गर्नुको कारणपनि सानै उमेरमा नबुझेरै गरेको ‘प्रेमको चक्कर’नै मान्ने गरिएको छ । डेली घोराही २ भट्टेटारकै हुन भने रितेश बंगलाचुली गाउँपालिकावाट पढ्नका मामाको घरमा बस्दै आएका थिए । मृतक कँवर द्धयको बीचमा पनि आपसमा नाता गोता पर्ने थियो ।
‘अस्ति मरेका चौधरीद्धय जत्तिकै नजिकको नाता त हैन, तर उनीहरुका बीचमा पनि अलि टाढाको भएपनि नाता पर्ने हुन भन्ने खुलेको छ,’ प्रअ उपाध्यायाले भने ।
जिल्ला प्रहरी कार्यालय घोराही दाङमा मुद्दा फाँटमा कार्यरत प्रहरी नायव निरिक्षक निर्मल खत्री अनुसार वितेको १० महिनामा जिल्लामा १४९ जनाले आत्महत्या गरेका छन् । ८६ जनाले झुण्डिएर र ६३ जनाले विषादी सेवन गरेर आत्महत्या गरेको खत्रीले बताए ।
न्यूनिकरण गर्न के गर्न सकिन्छ ?
डर लाग्दो गरि बढी रहेको आत्महत्याको कारण जान्न खोज्दा विद्यालयका प्रधानाध्यापक उपाध्यायले मोवाइल,सामाजिक सञ्जाल लगाएका चिज बस्तुलाई सही रुपमा सदुपयोग नगर्नुको परिनाम मान्न सकिने अथ्याए । ‘प्रविधिको गलत प्रयोगले विकृति निम्त्याएको छ,’ उपाध्यायले भने ‘अभिभावलके पनि यसमा अलि सावधानी अपनाउन आवश्यक छ।’
दाङका प्रहरी प्रमुख जनक भट्टराईपनि प्रधानाध्यापकको कुरासंग सहमत छन् । तर उनले जनचेतना फैलाउन नसक्नुले आत्महत्या बढेको तर्क गरे । गाउँ घरमा जनचेतना फैलाउन स्थानीय सरकार, अनलाईन मिडिया र रेडियोले थप भूमिका खेल्नुपर्ने उनले तर्क गरे । एसपी भट्टराईले भने–‘सामाजिक विकृति रोक्न स्थानीय सरकार मिडिया फोकस हुनुपर्छ।’
प्रेममा धोका वा असफल हुुनु तथा आर्थिक, सामाजिक,सांस्कृतिक कारणहरुले गर्दापनि समाजमा आत्महत्याको दर डरलाग्दो गरि बढ्दै गएको उनले तर्क गरे ।
राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान घोराही दाङमा कार्यकरत मनोचिकित्सक सुनयना यादवपनि आत्महत्याको प्रमुख कारण सचेतनालाई मान्न सकिने बताउँछिन् । यादवले भनिन्–‘आत्महत्याका धेरै कारण हुन्छन्,तर,प्रमुख कारण अवरनेस नै हो।’
मानसिक रोग तथा डिप्रेसनको उपचार संभव रहेको मनोचिकित्सक यादवले बताइन । ‘डिप्रेसन लुकाएर राख्नु गलत हो,’ यादवले भनिन् ‘ समयमै उपचार गर्न पाए त्यो रोक्न सकिन्छ र मानिसको ज्यान बचाउन सकिन्छ।’
युवा युवतीले लागु औषधको सेवन, प्रेममा असफलताका कारण बढी आत्महत्या गर्ने गरेको पाइएपनि त्यो पनि एउटा डिप्रेसनकै परिनामले हुने उनको तर्क छ । ‘यदी बच्चा र बृद्धले आत्महत्या गर्छ भने एक्लोपनि बढी कारक हुन सक्छ र त्योपनि डिप्रेसनकै कारणले हुन्छ,’ यादवले भनिन् । जस्ले जसरी आत्महत्या गर्ने गरेता पनि त्यसको मुल कारण डिप्रेसन जस्ता रोगहरु लुकाएर राख्नुको परिनाम भएको उनले दोह¥याइन ।