दाङ, माघ २५ । प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले रेडियो,पत्रिका र टिभीलाई जोगाएर राख्नका लागि सामाजिक सञ्जालको स्वच्छन्द प्रयोग नियमन गर्न आवश्यक रहेको बताएका छन् । सामुदायिक रेडियो प्रशारक संघ अकोर्यावको ५ नं. प्रदेशले विश्व रेडियो दिवसको अवसर पारेर शनिवार घोराहीमा आयोजना गरेको भेलालाई सम्वोधन गर्दै मुख्य मन्त्री पोखरेलले त्यस्तो बताएका हुन ।
नेकपा प्रदेश नं. ५ का इञ्चार्ज समेत रहेका पोखरेलले प्रेस, रेडियो र टिभी लगाएका मिडियाले सामाजिक सञ्जालको तानाशाह रोक्न प्रयास नगरेको गुनासो पनि गरे । मिडियाले राज्यवाट अनुदान मात्रै खोज्ने गरेको भन्दै उनले सामाजिक सञ्जालको तानाशाह कायमै रहेमा जति सुकै अनुदान दिएपनि रेडियो, पत्रिका र टिभी बाँच्न नसक्ने दाबी गरे ।
मुख्य मन्त्री पोखरेलले वीपीको पालामा समाजसंग आलोचना गर्ने चेतना नै नभएको हुँदा वीपीले आलोचना माग्ने गरेको भएपनि अहिलेको समाजमा आलोचना मात्रै रहेको हुँदा सामाजिक सञ्जाल नियमन गर्न आवश्यक रहेको तर्क गरे ।
फरक प्रशंगमा मुख्य मन्त्री पोखरेलले फागुन १० गतेदेखि १२ गते तीनदिन सम्म दाङमा प्रदेश सरकारले गर्न लागेको प्रेदेश एक्स्पो एउटा महत्वपूर्ण उदाहरण बन्ने दाबी गरे । हाल जिल्लामा भइरहेका महोत्वसहरुको नेतृत्व व्यापारीका नेताहरुले गर्ने गरेको भएपनि ती महोत्सव व्यापारीलाई नै टाट पल्टाउने खाले हुने गरेको उनले आरोप लगाए ।
सामुदायिक रेडियो प्रशारक संघ अकोर्यावका वरिष्ठ उपाध्यक्ष अजुर्न गिरीले कार्यक्रमको विषयबस्तु वारे विषय प्रवेश गराएपछि बक्ताहरु प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रेदशसभा सदस्य रेवतिरमण शर्मा, अकोर्यावका पूर्व अध्यक्ष मोहन चापागाँई, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, रेडियो स्वर्गद्धारीका स्टेसन म्यानेजर दधिराम सुवेदी, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य लगाएतले रेडियोको अवस्था र चुनौतिका बारेमा मनतव्य व्यक्त गरेका थिए ।
प्रदेश नं. ५ का अध्यक्ष केपी घिमिरेको अध्यक्षमा भएको कार्यक्रम दाङका अध्यक्ष मधुसुधन बैद्यको स्वागत मनतव्यवाट सुरु भएको थियो भने सहजिकरण प्रदेश सचिव संगित वस्यालले गरेका हुन ।