काठमाडौं, माघ १९ ।नेपाली कांग्रेसले भातृ संस्था नेपाल विद्यार्थी संघमा दुई जना उपसभापति मनोनित गरेको छ । सभापति शेरबहादुर देउवाले आइतबार झापाकी तुलसा पन्त र रूपन्देहीका मुक्तिराज पौडेललाई उपसभापति मनोनित गरेका हुन्।केन्द्रीय कार्यसमितिले दिएको जिम्मेवारी अनुसार सभापति देउवाले नेविसंघमा पाँच जना महामन्त्री पनि थपिएको छ।
त्यसमा तनहुँका दिपक भट्टराई, धादिङकी उर्मिला थपलिया, मकवानपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बलदेव तिमिल्सीना र स्याङ्जाका युवराज पाण्डे रहेका छन् । यो संगै अब नेविसंघ तदर्थ समिति दश सदस्यीय पुगेको छ।
नेताहरूबीच नेविसंघमा नौ जना महामन्त्री राख्ने सहमति छ। अब दुई जना महामन्त्री मनोनित गर्न बाँकी रहेको छ।
सभापति देउवाले माघ १६ गते नेविसंघ अध्यक्षमा सुनसरीका राजीव ढुंगानालाई मनोनित गरेका थिए । काठमाडौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवर पनि महामन्त्री मनोनित भइसकेका छन्। नेविसंघमा छ जना सहमहामन्त्री राख्ने नेताहरूबीच सहमति भए पनि अहिलेसम्म कसैलाई मनोनित गरिएको छैन। छ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी दिएर तदर्थ समिति बनाइएको छ ।