लिलाधर वली,
दाङ, माघ १७ । चिसो छल्न रुकुम पूर्वबाट किसानले दाङ ल्याएका दुईसय बढी भेडाहरु मरेपछि किसान चिन्तित बनेका छन् ।पुस माघको जाडो बाट भेडा जोगाउन भन्दै दुई महिना पहिला रुकुमको भुमे गाउँपालिका वडा नं. १ लुकुमबाट पाँच सय भेडा÷बाख्रासहित चार किसान रोल्पा हुँदै दाङ झरेका थिए । उनीहरु १७ दिन पहिले दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ को पाँचपोखरी जंगलमा भेडा ल्याएर आइपुगेका हुन ।
उनीहरुले ल्याएका भेडाहरुमा मुख पाक्ने, पातलो दिशा गर्ने (छेर्ने) र झुङ्ने, नाकवाट सिगान बग्ने, खान मन नगर्ने जस्ता लक्षणहरु देखिने र त्यसपछि धमाधम मर्ने गरेको एक किसान रामकृष्ण पुनले जानकारी दिए ।
एक महिनाको समयमा रोल्पा र दाङमा गरेर चार किसान परिवारका करिव दुई सय ५० भेडाहरु मरेको पुनले बताएका छन् । रोल्पाको माडी भन्ने ठाउँमा आउँदा भेडा मर्न सुरु गरेको उनले बताए । ‘हामीले चिसोका कारण त्यसो भएको हुन सक्ने अनुमान गर्दै दाङ तिर झर्यौं, तर झनै भेडा मर्ने क्रम बढेर गयो,’ पुनले भने ।
नयाँ ठाउँ र जंगलमा भएको कारण आफुहरुले कुनैपनि उपचारको मेलोमेसो पाउन नसकेको बताए ।
अर्का किसान धर्मबहादुर बुढा मगरले एउटै बगालमा रहेका भेडाहरु धमाधम मरेपनि बाख्राहरुमा भने समस्या नदेखिएको जानकारी दिए ।
उनले दैनिक ५देखि १० वटा सम्म भेडाहरु मर्ने गरेको बताए । रुकुमको लुकुमबाट चार घर परिवारले पाँच सय बढी भेडा र बाख्राहरु ल्याएर रोल्पाको जलजला, भनभने, थामा, माडि हुँदै दाङको उत्तर जंगल पाँचपोखरीसम्म आइपुगेको मगरले जानकारी दिए ।