२०८१ बैशाख ८ गते शनिवार

आवश्यक परे महोत्सवको सम्पूर्ण रकम टरिगाउँ एयरपोर्टमा लगाउने छौं – विमल रिजाल

तस्बिर : राजेश खत्री

दाङ,माघ ९ । तुलसीपुरमा शुक्रवारदेखि शुरु हुन गइरहेको महोत्सव उद्घाटन गर्न आउने पर्यटन मन्त्री योगेश भट्टराईको स्वागतको लागि १०० फिटको व्यानर तयार पारिएको छ । त्यो व्यानरमा टरिगाउँ एयरपोर्ट विस्तार गर्ने कुरा लेखिएको छ ।

टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तार गर्न अति आवश्यक छ भन्नेको कुराको सन्देश प्रवाह गर्नुका साथै सार्वजनिक स्थलमै मन्त्रीलाई त्यसवारे झकझक्याउन नयाँ सैली अपनाइएको विमल रिजालले जानकारी दिए ।

‘पर्यटन मन्त्री टरिगाउँ एयरपोर्टमै ओर्लिए हामी त्यो ब्यानरले उहाँलाई त्यही स्वागत गर्ने छौं,’ रिजालले भने ‘ यदी उहाँ नेपालगञ्जवाट आएर महोत्सव पुग्नु भयो भने हामी त्यो व्यानरले महोत्सवस्थलमा उहाँलाई स्वागत गर्दै एयरपोर्टवारे ध्यानाकर्षण गराउने सोचमा छौं।’

महोत्सव निर्देशक समितिका संयोजक रिजालले शुक्रवार महत्वसव सुरु हुनु भन्दा पहिले निकाल्ने झाँकी जुलुसहरु मध्य तुलसीपुर क्षेत्रका विद्यालयका सम्पूर्ण विद्यार्थीले टरिगाउँ एयरपोर्ट विस्तार सम्वन्धि नारा लेखेको प्ले कार्ड बोक्ने जानकारी दिए ।

‘ तुलसीपुर क्षेत्रको विकाश र एयरपोर्टको विकाशको माग गर्दै हामीले ज्ञापन पत्र नबुझाएको सायदै कुनैपनि सरकार प्रमुख र मन्त्रीहरु छैनन् होला,’ रिजालले भने‘त्यो तरिकाले भएन अब हामी सार्वजनिक रुपमै महोत्सव उद्घाटन गर्न आउने पर्यटन मन्त्रीलाई त्यसवारे ध्यानाकर्षण गराउन चाहान्छौं।’

तुलसीपुर उद्योग वाणिज्य संघका यसअघिका अध्यक्ष समेत रहेका रिजालले हालसम्म तुलसीपुर क्षेत्रको विकाश, टरिगाउँ एयरपोर्टको स्तबृद्धि र इन्धन डिपो स्थाप गरिदिन माग गर्दै विभिन्न सरकार प्रमुख, नेता र मन्त्रीहरुलाई बुझाइएका सबै ज्ञापन पत्रहरुलाई एउटैमा फाईलिङ गरेर मन्त्रीलाई बुझाउने योजना सुनाए । ‘ हामी पर्यटन मन्त्री लगाएत महोत्सवमा उपस्थित सम्पूर्ण राजनीतिक दलका नेता तथा पत्रकारहरुलाई त्यो ज्ञापन पत्रको फाईलपनि बुझाउने छौं,’ रिजालले अगाडि भने ‘तुलसीपुर उद्योग वाणिज्य संघले हालसम्म कति दुःख र हेमनत गरेको रहेछ भन्ने कुरा सबैको जानकारीको लागि हामीले त्यसोगर्न लागेका हौं।’

उनले टरिगाउँ एरपोर्ट विस्तार नभए अर्थात यहाँ प्लेन आउन छोडे तुलसीपुरको थप विकाशमा ब्रेक लाग्न सक्ने आशंका व्यक्त गरे । ‘विमान सेवा राम्रो नहुँदा अस्पतालमा राम्रो डाक्टर आउन मान्दैनन्, त्यसले घाइते तथा विरामी बाटोमै मर्ने क्रम रोकिने छैन,अनि स्तरिय होटेल तथा उद्योगको लागि थप लगानी हुने संभावना रहँदैन,’ रिजालले भने ।

टरिगाउँ एयरपोर्ट विस्तार गरेर १२ देखि साढे १२ सय मिटर सम्मको बनाउन सके ४८ सिटको विमान आउन सक्ने र त्यसले भाडादर समेत सस्तो हुने उनले बताए । ‘पहिले विमान कम्पिनीहरुले एयरपोर्ट कालोपत्रे हुनुपर्छ भन्दै आएका थिए र हामीलाई प्राविधिक ज्ञान थिएन । त्यसैले ७५० मिटर मात्रै धावनमार्ग कालोपत्रे भयो,’ रिजालले थपे ‘अहिले आएर त्यो धावनमार्ग सानो भएको महसुश भयो।’
एयरपोर्ट विस्तारको काम सुरु भएको दिन मै आफुले तुलसीपुरमै फोरस्टार वा फाइभ स्टार होटेल स्थापनाको घोषणा गर्ने समेत उनले बताए । रिजालले तुलसीपुर क्षेत्रका व्यापारी मिलेर त्यो लेवलको होटेल खोल्ने प्रतिवद्धता जाहेर गरे ।

त्यसका साथै महोत्सवको अर्को प्रमुख उदेश्य भने दोघरेमा निर्माण गरिएको बहुउदेश्य सभाहलको बाँकी रकम तिर्नको लागि पनि हो । ‘हामीले सभाहल त निर्माण सक्यौं,तर, उधारोमा ल्याएको सामानको पैंशा तिर्नु छ,’ रिजालले भने महोत्सव बाट संकलित रकमले त्यो रकम तिर्ने हाम्रो सोच छ।’

उदेश्य सभाहलको रकम तिर्नको लागि भएपनि यदी विमानस्थलको स्तरउन्नतीको कुरा आयो र राज्य पछाडि हट्ने अवस्था आयो भने सम्पूर्ण रकम सल्लाह गरेर एयरपोर्टमा लगाउने उनले बताए । ‘हामी तुलसीपुर र दाङको विकाशमा सहयोगी बन्न चाहान्छौं,’ रिजालले भने ‘समाजले जे भन्छ हामी त्यो रकम त्यसैमा लगाउने छौं।’ महोत्सव व्यक्तिगत स्वार्थको लागि नभई सामाजिक उत्तरदायित्व बोधका साथ आयोजना गरिएको रिजालले बताए ।

महोत्सवमा अन्य के–कस्ता क्रियाकलाप हुन्छन् ?
सरकारले घोषणा गरेको पर्यटन वर्ष सन २०२०को लक्ष्य भेदन गर्ने एउटा प्रमुख आधार महोत्सवलाई पनि मानिएको छ । आन्तरिक पर्यटक मार्फत ‘घुम्न जाउँ तुलसीपुर’ अभियानलाई सार्थक तुल्याउन महोत्सव सहयोगी बन्ने अपेक्षा गरिएको छ । त्यसैले यो महोत्सवमा विभिन्न कार्यक्रमहरु पनि गरिदै छन् । तुलसीपुरको महोत्सव स्थलदेखि पुरन्धाराको छहरासम्म साईकल टुरको आयोजना गरिदैछ । त्यसमा नेपालगञ्जका साईक्लिष्टिहरु पनि सहभागी हुँदैछन् । मिनी म्याराथुन प्रतियोगिता, विद्यालय स्तरिय नृत्य प्रतियोगिता आयोजना गरिने महोत्सव निर्देशक समितिका संयोजक रिजालले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ । महोत्समा हरेक दिन विहान योग शिविर सञ्चालन हुने छ । रक्तदान कार्यक्रम पनि हरेक दिन आयोजना गरिने छ। आँखा शिविर सञ्चालन हुने छ । सामान्ने चेकजाँचको सुविधा सबैलाई हुने छ । रिजालका अनुसार जेष्ट नगरिक र गरिव सुमदायका व्यक्ति जस्ले आँखा तथा अन्य कुनैपनि उपचारको लागि खर्च गर्न सक्दैनन् त्यस्तालाई अवस्था हरेर सल्यक्रिया सम्मको सम्पूर्ण खर्च तुलसीपुर उद्योग वाणिज्य संघले गरिदिने वताए ।
त्यस्तै महोत्सवमा हरेक दिन विभिन्न शिर्षकमा अन्तरक्रियाहरु आयोजना गरिने छ । महोत्सवमा बालबलिकाको मनोरञ्जनको लागि बाल उद्यान राखिएको छ भने अन्य उमेर समुहका व्यक्तिहरुको लागि लोकपृय कलाकारहरु ल्याइने रिजालले बताए ।

नगर भित्र बसभाडा १० रुपैंया निर्धारण
महोत्सवमा आउने मानिहरुको सुविधाको लागि नगरका चार किल्ला निर्धारण गरेर प्रतिव्यक्ति १० रुपैंया मात्रै भाडा निर्धारण गरिएको छ । उत्तरमा रक्षाचौर, दक्षिणमा पुकार पसल र पूर्वमा पर्सेनी बाट बसमा आउने प्रत्येक व्यक्तिले दश रुपैंयामा यात्रा गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिइएको छ । यायाताय संयोजक सुरेश हमालले त्यो व्यवस्था मिलाएको बताएका छन् । त्यसवाट घाटा भएको रकम तुलसीपुर उद्योग वाणिज्य संघले तिर्ने गरि व्यवस्था गरिएको छ ।

सर्वसाधारणको लागि प्रतिव्यक्ति ५० रुपैंया, विद्यार्थीको लागि ४० रुपैंया र १० दिनका लागि ३०० रुपैैंयाको टिकटको व्यवस्था गरिएको रिजालले जानकारी दिए ।त्यसमध्य जेष्ट नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई अवस्था हेरेर निशुल्क प्रवेशको व्यवस्था गरिएको रिजालले बताए ।

झन्डै ४ सयको हाराहारीमा स्टलहरु रहने बताएका रिजालले १०० जति स्टलहरु सिस्तैमा रहने जानकारी दिए । कृषि, प्रविधि जस्ता स्टलहरु निशुल्क उपलब्ध गराइने भएको छ । ‘हामी सकभर गुनासो नआउने गरि महोत्सव सम्पन्न गर्ने मनस्थितिमा छौं,’ रिजालले भने ‘हामीले गर्न लागेको सामाजिक कार्य हो र यसमा समाजका सबैको सकारात्मक सहयोग अपिरिहार्य हुन्छ ।’ अन्त्यमा उनले उनले सबैलाई साथ र सहयोगको लागि आग्रह पनि गरेका थिए ।

प्रकाशित मिति : २०७६ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *