२०८१ बैशाख ११ गते मङ्गलवार

प्रदेश ५ मा राष्ट्रियसभा सदस्यको लागि निर्वाचन सुरु


दाङ, माघ ९ । प्रदेश नं. ५ मा राष्ट्रियसभा सदस्य निर्वाचन सुरु भएको छ । निर्वाचनको लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ। मतदानका लागि ‘क’ र ‘ख’ गरी दुईवटा मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुशील देवकोटाले जानकारी दिए। ‘क’ मतदान केन्द्रमा प्रदेशसभा सदस्य र ‘ख’ मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गर्ने गरि व्यवस्था मिलाइएको छ ।

मतदानका लागि मतपत्र ल्याउनेदेखि मतदानस्थलमा मतदानका लागि लाइन निर्माण, मतपेटिका राख्नेलगायतका सम्पूर्ण तयारी पुरा भइसकेको र अबको केही बेरमै मतदान प्रक्रिया सुरु हुने देवकोटाले जानकारी दिए। बिहीबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ।

निर्वाचनका लागि १६ जना कर्मचारी खटाइएको उनले बताए। निर्वाचनमा मतदानका लागि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायतका मन्त्री, सांसदलगायत स्थानीय तहका प्रमुख र उपप्रमुखहरू दाङ आइसकेका छन्।

नौ जनाको उम्मेदवारी
प्रदेश ५ मा नौं जनाले मनोनयन दर्ता गराएका छन्। निर्वाचनका लागि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पार्र्टीबाट तीन–तीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। जसमा नेकपाबाट अपाङ्ग सदस्यमा दाङबाट जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराईले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यसैगरी राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसङ्ख्यक सदस्यमा बाँकेबाट मेराज अहमद हलवाई र अन्यबाट अर्घखाचीबाट बालकृष्ण पाण्डेयले मनोनयन दर्ता गराएका छन्। त्यस्तै समाजवादी पार्टीबाट अल्पसङ्ख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दियाबाट कृष्णप्रसाद अहिर र राष्ट्रिय जनमोर्चा पार्टीबाट अन्य सदस्यका लागि कपिलवस्तुबाट शिवप्रसाद पौडेलले मनोनयन दर्ता गराएका छन्।

प्रदेशसभा सदस्य ८७ जना र १२ जिल्लाका १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १८ जना मतदाता रहेका छन्। प्रदेश ५ मा कुल ३ सय ५ जना मतदाताले राष्ट्रियसभा सदस्य चुन्न मतदान गर्ने अधिकार पाएका छन् ।

प्रकाशित मिति : २०७६ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *