नन्दराम खड्का,
होलेरी,माघ ५। देशमा चलेको तत्कालीन १० बर्षे द्वन्दको उद्गम थलो रोल्पा होलेरीमा राष्ट्रिय मिडिया शान्ति सम्मेलन २०७६ कार्यक्रम हुने भएको छ।२०५२ शाल फाल्गुन १ गते तत्कालीन बिद्रोही पक्ष तत्कालीन माओवादीले होलेरीको प्रहरी चौकीमा आक्रमण गरेको दिन पारी आगामी फाल्गुन १ र २ गते होलेरीमा कार्यक्रम गरिने भएको छ।
भ्रमण बर्ष २०२० को अबसर पारी राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चिनिएको,ऐतिहासिक महत्त्व बोकेको रोल्पाको सङ्गम स्थल होलेरी लगाएत समग्र रुण्टीगढीमा पर्यटन बिकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिन लागेको गाउँपालिकाका पर्यटन फोकल ब्यक्ति दीपक डाँगीले जानकारी दिएका छन।
रुण्टीगढीमा स्वर्गद्वारी महाप्रभुको जन्मभुमी रुण्टी तपोभुमी गढीलेक,शिबप्राबती गुफा जस्ता धार्मिक र एेतिहासिक स्थलहरु भएकाले यिनका प्रबर्द्धनका लागि प्रचारप्रसारको आबश्यक्ता भएको र त्यसै अनुरुप गाउँपालिकाले चरणबद्द रुपमा विभिन्न कार्यक्रम गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने र पर्यटक भित्र्याउने उद्देश्य अन्तर्गत फाल्गुन १ र २ गते विशेष दिन पारेर कार्यक्रमको आयोजना गरिन लागेको गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले जानकारी दिए।
शनिबार गाउँपालिकाको प्राङ्गणमा बसेको बैठकले गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा २५ सदस्यिय मुल आयोजक समिति र ६ बिभागिय उपसमिति समिति गठन गरिएको छ। भने कार्यक्रमको सह-आयोजक नेपाल पत्रकार महासंघ रोल्पा रहेको छ।