तुलसीपुुर,पुस २१ । तुलसीपुर उपमहानगरपालिकाले भौतिक सुविधा विस्तार अन्तर्गत विभिन्न विद्यालयहरुलाई अनुदान सहयोग गर्ने भएको छ । उपमहानगरपालिका शिक्षा समितिको वैठकले २० वटा सामुदायिक विद्यालयहरुलाई विभिन्न सहयोग दिने निर्णय गरेको छ ।
दुई कोठे ब्लक निर्माणका लागि प्रावि मुलकोट, मावि प्रतापकोट, मावि सेन्टर, मावि भित्री संक्राम, आवि सुन्दरनगर, मावि हरिपौरी र आवि बेलझुण्डीलाई सहयोग दिने निर्णय भएको शिक्षा समिति संयोजक देवराज विकले जानकारी दिए ।
विद्यार्थी संख्या अनुपातमा कक्षा कोठाको संख्या कम भएका विद्यालयहरुलाई त्यो सहयोग प्रदान गर्न लागिएको बताए ।
नगरले मावि विजौरी, आवि छोटे र प्रावि करङ्गालाई शौचालय निर्माणमा सहयोग गर्ने भएको छ ।
त्यस्तै मावि कालाखोला, मावि उरहरी, मावि दुधरास र मावि मानपुरलाई सूचना प्रविधिमा सहयोग गर्ने भएको छ । यी विद्यालयहरुलाई सूचना प्रविधि सम्वन्धि सामग्री उपलब्ध गराइने भएको छ । तर कस्तो सामाग्री भन्ने भने खुलाइएको छैन ।
मावि कुटिचौर, मावि दोघरे र मावि भ्युडहर सुनपुरलाई पुस्तकालय निर्माणमा सहयोग गर्ने निर्णय भएको छ ।
मावि खाद्रे, महेन्द्र मावि तुलसीपुर र मावि अम्वापुरमा विज्ञान प्रयोगशाला निर्माणमा सघाउने निर्णय कार्यपालिकाको वैठकले गरेको छ ।
संघीय सरकारको सशर्त १ करोड ९८ लाख अन्तर्गतको अनुदान वितरण गर्न लागिएको शिक्षा शाखा संयोजक विकले वताए ।