दाङ,पुस १८ । तुलसीपुरको दोघरेमा निर्माणाधिन तुलसीपुर उद्योग वाणिज्य संघको सभाहल निर्माणमा सहयोगी हातहरु थपिदै गएका छन् ।संघका सल्लाहाकार तथा प्रतिष्ठित उद्योगपति नारायणप्रशाद खनालले एकलाख एक हजार रकम सहयोग स्वरुप प्रदान गरेका छन् ।
शुक्रवार विहान उद्योगी खनालले वाणिज्य संघका अध्यक्ष विरु राउतलाई उक्त चेक हस्तान्तरण गरेका हुन ।
तुलसीपुर ९ दोघरेमा निर्माणाधिन सभाहल निर्माणको ९० प्रतिसत बढी काम पुरा भइसकेको सभाहल निर्माण समितिका संयोजक विमल रिजालले जानकारी दिए । ‘अब वाईरिङ,पन्टिङ र टायलको काम मात्रै बचेको छ,’ संयोजक रिजालले भने ‘ संभवत हामी माघको अन्तिममा र त्यो संभव नभए चैत महिना भित्रै सबै काम पुरा गर्ने छौं।’
यस भन्दा अगाडि तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्ष रहँदा संयोजक रिजालले नै दोघरेमा झन्डै एक हजार मानिस अटाउन सक्ने क्षमताको सभाहल निर्माणको काम सुरु गरेका थिए ।
संघले आफ्नै पहलमा यसक्षेत्रका उद्योगी व्यापारी संग सहयोग संकलन गरेर एक वर्ष अगाडि सभाहल निर्माण कार्य सुरु गरेको थियो ।
रिजाल संघको अध्यक्ष रहँदा दोघरेमा सभाहल निर्माण गर्न तुलसीपुरमा व्यापारिक मेलापनि लगाइएको थियो । त्यसवाट झन्डै ७५ लाख बचत भएको रिजाले जानकारी दिए। तर सभाहल निर्माण गर्न झन्डै ३ करोड हाराहारी बजेट लाग्ने अनुमान गरिएको छ । त्यो बजेट अभावलाई परिपुर्ती गर्न तुलसीपुर उद्योग वाणिज्य संघले यो वर्ष पुनः तुलसीपुरमा महोत्सव लगाउने तयारी गरिहेको छ ।
माघ ९ गतेदेखि १९गते सम्म तुलसीपुरमा चौथो महोत्सव लगाउने तयारी भइरहेको रिजालले जानकारी दिए । ‘घुम्न जाउँ तुलसीपुर अभियानलाई सार्थक पार्नको लागि पनि महोत्सव गर्न लागिएको छ,’ रिजालले भने ‘ त्यसवाट हामी झन्डै एक करोड जति बचत गर्ने सक्छौं कि भन्ने अुनमानमा छौं।’
सभाहल निर्माण कार्यमा बजेट अभाव टार्नको लागि महोत्सव लगाउनु पर्ने अवस्था सृजना भएको निर्माण समितिका संयोजक रिजालले जानकारी दिए ।
तुलसीपुर क्षेत्रमा ठूला सभा समारोह गर्न ठूला खालका सभाहलको अभाव पुरा गर्न तुलसीपुर उद्योग वाणिज्य संघले सभाहल निर्माण गर्न लागिएको उनले बताए ।
‘सभाहल निर्माण पछि तुलसीपुरमा ठूलो सभागर्ने सभाहल छैन भन्नेहरुको मुख बन्द हुने छ,’ रिजालले भने ‘यसले पक्कैपनि तुलसीपुरको विकाशमा महत्वपूर्ण भूमिका खेल्ने छ।’ उनले तुलसीपुर क्षेत्रका विकाशको लागि अब स्तरिय होटेल, एयरपोर्टको विकाश र विस्तार, इन्धन डिपो, सडक विस्तार आवश्यक रहेको बताए ।