दाङ,मंसिर २६ । दाङको राजपुर गाउँपालिका वडा नं. ३ करंगा निवासी मिना विकले बेपत्ता अवस्थामा रहेका आफ्ना पतिको खोजी र जीवन रक्षाको मागगर्दै निवेदन दिएकी छन् ।
गत कार्तिक २४ गते विकले आफ्ना ३१ बर्षीय पति बीरबहादुर विक (रञ्जित) कात्तिक ३० गतेदेखि सम्पर्क विहिन अवस्थामा रहेको हुँदा खोजी गरिदिन र जीवन रक्षाको लागि पहल गरिदिन आग्रहसहित अधिकारकर्मी, प्रहरी प्रशासन, पत्रकार महासंघ, वार एसोसियसन लगाएतमा निवेदन दिएकी छन् ।
मिना विकले निवेदनमा आफ्ना पति सरकारद्धारा प्रतिवन्धित विप्लव पार्टीमा लागेको तथा असोज ३० गते राजपुर ४ बाट विप्लवका दाजु ‘वीरजंग’ सहित राप्ती ब्युरोका २१ जना माथिल्लो तहका नेता पक्राउ परेको दिनदेखि बेपत्ता रहेको उल्लेख गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय दाङको मुद्दा फाँटका प्रमुख प्रहरी निरिक्षक राजन गौतमका अनुसार निवेदक विकले आफ्ना पति बीरबहादुर विक (रञ्जित)लाई पार्टीकै मान्छेले सुराकी गरेको बेपत्ता पारेको हुन सक्ने आशंका व्यक्त गरेको जानकारी दिए ।
‘असोज २९ गते बेलुका ‘रञ्जित’ ४ जना जति मानिसहरुको साथमा घरमा आएको र केही बेरमै उनीहरुसंगै गएको र फेरि ३० गते विहान साढे ५ बजेतिर घर आएको भएपनि त्यसको आधा घन्टा मै फोन आएपछि फेरि पार्टीका साथीहरुले बोलाएको भन्दै ६ बजेतिर घरवाट गएदेखि सम्पर्क विहिन रहेको बेहोरा मिना विकको निवेदनमा उल्लेख गर्नु भएको छ,’ प्रहरी निरिक्षक गौतमले भने ।
अघिपछि ‘रञ्जित’ले पार्टीको काममा रहँदा पनि समय समयमा घरमा फोन सम्पर्क गर्ने गरेतापनि पछिल्लो समय उनले प्रयोगगर्ने मोवाईल नम्वर ९८०९८९५५९७ स्वीच अफ रहँदै आएको भन्दै पत्नि मिना विकले आफ्ना पतिको खोजी तथा जीवन रक्षाको लागि पहल गरिदिन आग्रहसहित प्रहरीमा निवेदन दिएको प्रहरी निरिक्षक गौतमले जानकारी दिए । विप्लवले आफ्नै कार्यकर्तालाई सुराकीको आरोपमा बन्धक बनाएको तथा कारवाही गरेको भन्ने हल्ला चलेको हुँदा आफु निवेदन दिन आएको मिनाले प्रहरी समक्ष बताएकी छन् ।
मिनाले पतिको खोजी र जीवन रक्षाको अपिल गर्दै मानवअधिकार शाखा नेपालगञ्ज, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक बाँके,जिल्ला वार एसोसियन दाङ, पत्रकार महासंघ दाङ, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय दाङ, मानव अधिकार तथा शान्ति समाज दाङ, एमनेष्टि,सिविन नेपाल लगाएका अधिकारवादी संघ संस्थालाई बोधार्थ निवेदन दिएकी छन् ।
नेपाल र भारतको सीमा नाका राजपुरबाट विप्लवका उच्चतहका नेता कार्यकर्ता पक्राउ परे लगतै त्यसमा सुराकी गरेको आशंकामा आफ्नै चार जना कार्यकर्तालाई उक्त समुहले कारवाही स्वरुप बन्धक बनाएको तथा बेपत्ता पारेको सूचना सेतोपाटीलाई प्राप्त भएको थियो । तर हालसम्म बेपत्ता पारिएका भनिएका मध्य एकजनाले मात्रै प्रहरी प्रशासनमा आएर निवेदन दिएका छन् ।