शंकर केसी, सल्यान ।
सल्यानमा मोटरबाटो बनाउन जनप्रतिनिधिहरुले श्रमदान गरेका छन् । सल्यान बाट निर्वाचित प्रतिनिधीसभा सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेन लगाएतका जनप्रतिनिधिहरुले शनिबार कपुरकोटको सिमलकुना हुँदै दाङ जोड्ने मोटरबाटो निर्माण गर्न श्रमदान गरेका हुन । उनीहरुले गैँती, बेल्चा लगाएतका घरायसी औजारले बाटो खनेका थिए । त्यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडा नम्बर १ का अध्यक्ष बालाराम खड्का, २ का अध्यक्ष मानबहादुर राना, ३ का अध्यक्ष मिनबहादुर सेनले पनि मोटरवाटो खन्न श्रमदान गरेका थिए ।
पछिल्लो समय मोटरबाटो निर्माणका नाममा जताजतै डोजरको प्रयोग बढको हुँदा त्यसले बढी विनास निम्त्याएको हँुदा समुदाय कै सहभागितामा विकास कार्य अघि बढाउन जन श्रमदान गरेको प्रतिनिधिसभा सदस्य बस्नेतले बताए ।
सांसद् बस्नेतले कुनै पनि विकासमा जनता नजोडिदा सम्म त्यो विकाश दिगो नहुने बताए । ‘जवसम्म विकासमा जनताले पसिना बगाउँदैनन् तव सम्म त्यो विकास आफ्नो हुँदैन,’ उनले भने । मेसिनको प्रयोगबाट काम छिटो हुने भएता पनि त्यो विकास भावनात्मक बन्न नसकेको उनको तर्क थियो ।
केन्द्र सरकारको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका वाड नं. २ को सिमलकुना हुँदै दाङ जोड्ने सडक निर्माण गर्न यो वर्ष ३० लाख विनियोजन भएको छ ।
गत वर्ष कपुरकोट गाउँपालिकाको २९ लाख लागतमा ट्रयाक खोल्ने तथा १ हजार ७ सय मिटर बाटो निर्माण भइसकेको छ । यो वर्ष केन्द्र सरकोरको ३० लाख र कपुरकोट गाउँपालिकाको ५ लाख समेत गरि ३५ लाखमा स्थानीय उपभोक्ताको श्रमदान बाट बाटो खन्न सुरु भएको छ ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले अव ५ किलोमिटर जति बाटो खन्न बाँकी रहेको जानकारी दिए । कपुरकोटको सिमलकुना हुँदै दाङ जोड्ने मोटरबाटो निर्माण गर्न डिपीआर भइसकेको अध्यक्ष सेनले बताए । सम्भव भएको ठाउँसम्म गाउँका उपभोक्ताले नै मोटरबाटो खन्ने र असम्भव ठाउँमा मात्रै डोजर प्रयोग गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष तुलाराम पुनले जनाएका छन् ।
रिङ रोड निर्माण गर्ने उदेश्य
सल्यान जिल्लामा रिङ रोड निर्माण गरिने भएको छ । प्रतिनिधिसभाका सदस्य बस्नेतले सल्यानलाई छुने छिमेकी जिल्लाहरुको सिमाना हुँदै रिङ रोड निर्माण गर्ने कार्य शुरु गरिएको जानकारी दिए । रिङ रोडका लागि २ सय ६० किलोमिटर खन्नुपर्ने अवस्था रहेको भएपनि त्यसमध्य १ सय २० किलोमिटर बाटो निर्माण भइसकेको बस्नेतले जानकारी दिए । कपुरकोट गाउँपालिकाले रिङ रोडका लागि ५० लाख रुपैंया विनियोजन गरेको छ ।