२०८२ असार ३१ गते बुधवार

सल्यानको शंखमुलमा अत्याधुनिक पार्क निर्माणको काम सुरु


शंकर केसी,
सल्यान, मंसिर २० । पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले सल्यानको पवित्र धार्मिक तिर्थस्थल शंखमुलमा अत्याआधुनिक पार्क निर्माणको काम सुरु भएको छ । करिव एक करोडको लागतमा पार्क निर्माण गरेर ठूलो आकारको शंख स्थापना गरिने गाउँपालिकाका अध्यक्ष सञ्तोष केसीले जानकारी दिए । शंख सहित बन्न लागेको पार्कको शुक्रबार शिलान्यास गरिएको छ ।

राप्ती लोकमार्ग अन्तरगत दाङ–सल्यान सडक खण्डको घोप्टे अम्राईदेखि ५ सय मिटरको दुरिमा उक्त पार्क निर्माण गर्न लागिएको अध्यक्ष केसीले बताए । छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने शंखमुलमा गाउँपालिकाले पार्क निर्माणको काम अगाडि बढाएको छ ।

पार्क निर्माण गर्न गाउँकार्यपालिकाले १ करोड १४ लाख ४६ हजार ९ सय २८ रुपैंया बिनियोजन गरिसकेको छ । सोही बजेटबाट पार्क निर्माण गर्न प्राकृतिक निशान जेभी सिद्धार्थनगर रुपन्देहीले भ्याट सहित ९५ लाख १२ हजार १ सय ८३ रुपैंयामा जिम्मा लिइसकेको गाउँपालिकाका इञ्जिनियर रञ्जन चन्दले जानकारी दिए । २०७८ असार मसान्तसम्म पार्क निर्माणको काम पुरा गरिसक्ने सर्त रहेको छ ।

पार्कमा ढुङेधारा, कुण्ड, शिव भगवानको मुर्ति, आकर्षक बगैचा, पानीका फोहरा, चौतारी, चेञ्जिङ रुम, सौचालय, विश्राम स्थल लगाएतका संरचनाहरु निर्माण गरिने भएको छ । पार्क निर्माणको काम पुरा भएमा पबित्र धार्मिक स्थल छाँया क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने विश्वास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले जानकारी दिए ।

श्री स्वस्थानी ब्रत कथामा वर्णण भए अनुसार छाँयाछेत्र तथा शंखमुल धार्मिक महत्वको एक केन्द्र हो । सत्य युगमा महादेवले सतीदेवीको मृत शरिर बोकेर विश्व परिक्रमा गर्दा सतिदेबीको बांकि रहेका सम्पुर्ण अंगहरु छाँयाक्षेत्रमा पतन भएको र त्यसपछि महादेबले शंखमुलमा स्नान गरेको कथाहरुमा बर्णण गरिएको छ ।

महाशिबरात्री तथा अन्य समयमा त्यहाँ ठुलो मेला लाग्ने गर्छ । यहाँको मुलको पानीमा नुहाउने भक्तजनको ठूलो भिड लाग्ने गर्छ । पार्क निर्माण गर्न लागिएको स्थानबाट छाँयाक्षेत्र (छत्रेश्वरी) मन्दिर करिब ४ किलोमिटरको दुरिमा रहेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *