दाङ, मंसिर १९ । बैंकको १८ करोड रुपैयाँ हिनामिना प्रकरणका दोषी मध्य दुईजना जनही १२ लाख धरौटीमा छुटेका छन् । तत्कालिन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुर शाखाको १८ करोड हिनामिना प्रकरणको अभियोग खेपेका मध्य सञ्चालक समिति अध्यक्ष अध्यक्ष ओमभक्त बुढाथोकी र सञ्चालक समिति सदस्य अर्जुन बुढाथोकी जनही १२ लाख धरौटीमा छुटेका छन् ।
उच्च अदालत तुलसीपुर दाङले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका शाखा अधिकृत मानबहादुर विष्टले जानकारी दिए ।
यसअघि नै २ महिना लाामो अनुसन्धान पछि प्रहरीले बैंकको १८ करोड हिनामिना प्रकरणको मुद्दा सरकारी वकिल कार्यालयमा बुझाएको थियो । त्यसैको अधारमा सरकारी वकिल कार्यालयले कार्तिक ३ गते ५६ जना विरुद्ध १८ करोड हिनामिना प्रकरणको अभियोगको मुद्दा उच्च अदालत तुलसीपुमा दायर गरेको थियो ।
त्यसपछि वैंक सञ्चालक समिति अध्यक्ष र सदस्य फरार रहँदै आएका थिए । त्यसपछि अदालतले उनीहरुको घरमा म्याद टाँगेको थियो । अनि बल्ल बाध्य भएर सञ्चालक समितिका अध्यक्ष बुढाथोकी र सदस्य बुढाथोकी दुबै जना अदालतमा उपस्थित भएका थिए ।
सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दा अनुसार अझैंपनि तत्कालिन बेष्टर्न बैँकका सञ्चालकहरु मध्य बैंकका ऋण वोर्डका सदस्य खड्ग बुढाथोकी, सञ्चालक समितिका सदस्यहरु वेगमबहादुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटा फरार नै रहेका छन् ।
त्यस्तै हिनामिना प्रकरणमा मुद्दा दायर गरिएका मध्य तत्कालिन बेष्टर्न बैंकका सिईओ खिमबहादुर डिसी, बैंकका कर्जा विभाग प्रमुख अनिलकुमार न्यौपाने, वुटवलका अडिटर प्रेम भुर्तेल, लोन सहायक पोषणराज जैसी, सहायक सिर्जना थापासहित ६ जना र खाताको रकम दुरुपयोग गरेकोमा बसन्तबहादुर बस्नेतपनि फरार नै रहेका छन् ।
यसअघि नै पक्राउ परेका मध्य बैंकका म्यानेजरसहित १३ जना कर्मचारी र खातावाला समेत गरि पाँच जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । त्यसमध्यमा पनि चारजना धरौटी र चारजना साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो ।
तर फरार सुचिमा रहेका अन्य ब्यक्तिहरुको नाममा अदालतले प्रहरी मार्फत पक्राउ पुर्जी जारी गरेर व्यापक रुपमा खोजतलास गरेको भएपनि कोहीपनि पक्राउ परेनन् । त्यसपछि प्रहरीले ३५ दिने म्याद राखेर पक्राउ पुर्जी जारी गरेको हो । यो बीचमा सञ्चालक समितिका अध्यक्ष र सदस्य अदालतमा उपस्थित भएर धरौटिमा छुटेपनि अन्य केही भने अझैं फरार नै रहेका छन् ।
बैंक घोटालामा संलग्नमध्य बैंक सञ्चालक, सिइओ लगाएको सम्पत्ति छानविन गर्न मागसहित सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा समेत परेको छ ।
१८ करोड हिनामिना प्रकरणमा संलग्न भएको आरोप लागेका मध्य बैंकका सिइओ, सञ्चालक समितिका अन्य पदाधिकारी, बैंक ऋण वोर्ड सदस्यहरु भने अझैंपनिफरार रहँदै आएका छन् ।