दाङ,मंसिर ११ । दाङमा भएको बस दुर्घटनामा परि एक किशोरीको मृत्यु भएको छ भने थप २० जना घाइते भएका छन् । बंगलाचुली गाउँपालिका वडा नम्वर ६ बचेनी भन्ने स्थानमा ना ३ ख ६५४२ नम्वरको बस दुर्घटना हुँदा प्यूठानको मान्डबी गाउँपालिका वडा नं. २ की १६ बर्षीया नेहा वलीको घटनास्थलमै मृत्यु भएको छ । दाङको घोराहीदेखि प्यूठानको ढिकावाङ तर्फ जाँदै गरेको यात्रुबहाक बस दिउँसो सवा ३ बजेतिर दुर्घटनामा पर्दा चालक, सहचालक सहित थप २० जना घाइते भएका छन् ।
घाइते मध्य बसका चालक प्यूठानको मान्डबी गाउँपालिका वडा नं. १ निवासी ३४ बर्षीय लोकबहादुर बुढा,दाङको घोराही उपमहानगरपालिका वडा नं. १ निवासी ३२ बर्षीय सञ्तोष परियार, घोराही १६ सर्रा निवासी २२ बर्षीया विमला शर्मा, बंगलाचुली गाउँपालिका वडा नं. ६ रुपिनडाँडा निवासी बसका सहचालक ४० बर्षीय हिक्मत पुनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
गम्भीर घाइतेहरुलाई दाङमा प्रारम्भीक उपचारपछि थप उपचारको लागि बाँके जिल्लाको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ। अन्य घाइते मध्य दुई जनाको अवस्था मध्यम र थप सबैको अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ ।