२०८१ असोज २५ गते शुक्रवार

मतदान अधिकृतलाई नियुक्ति पत्र र खर्च प्रदान


दाङ,मंसिर १० । उपनिर्वाचनको लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मंगलवार नै नियुक्ति पत्र र खर्च प्रदान गरिएको छ । घोराही स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उनीहरुले नियुक्त पत्र र खर्च बुझेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले फरककोणलाई जानकारी दिए ।  तर मत पत्र भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई बुधवार मात्रै प्रदान गर्ने भएको छ । मंसिर १४ गते जिल्लाको दुई ठाउँमा हुन गइरहेको उपनिर्वाचनमा ८२ मतदान केन्द्र रहेको हुँदा ८२ मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाउन लागिएको छ ।

जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले मतदान अधिकृत र सहायक मतदान अधिकृत बाहेक थप ४ सय १० जना कर्मचारी उपनिर्वाचनका लागि खटिने तयारी रहेको जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालय दाङले बुधवार नै निर्वाचनको लागि आवश्यक सम्पूर्ण सामाग्री प्रदान गर्ने सूचना अधिकारी कँवरले बताए । गोप्य मतदान गर्ने स्वस्तिक छाप, मत पेटिका फारम,गोप्य मतदानको लागि आवश्यक पर्ने छेकवार र निर्वाचनका लागि आवश्यक अन्य सबै आवश्यक सामाग्री प्रदान गरिने कँवरले जानकारी दिए ।

भोलिदेखि मतदान केन्द्रमा सुरक्षाकर्मीको पहरा
यसअघि नै सबै मतदान केन्द्रहरुमा सुरक्षाकर्मीले निगरानी बढाएको भएपनि मौन अवधि लागेपछि बुधवार पछि सुरक्षाकर्मी समेत मतदान केन्द्रको सुरक्षाको लागि खटिने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले जानकारी दिए ।

निर्वाचनको सुरक्षाको लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी गरि तीनै तहको सुरक्षा संयन्त्र खटिने रिजालले बताए । जिल्लामा निर्वाचनको अघिल्लो दिन मंसिर १३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा सुरक्षाकर्मी संगको समिक्षा बैठकपछि तयारी बारे पत्रकार सम्मेलन गर्ने उनले जानकारी दिए ।

प्रदेश नं. ५ मा मंसिर १४ गते दाङमा मात्रै उपनिर्वाचन हुन लागेको छ । त्यसैले आसपासका बाहिरी जिल्लावाट समेत निर्वाचन सुरक्षाको लागि सुरक्षाकर्मी जिल्लामा झिकाइएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रबक्ता नवराज पौडेलले जानकारी दिए । कति संख्यामा बाहिरी जिल्लावाट सुरक्षाकर्मी आएका छन् र जिल्लाको दुई ठाउँमा हुने उपनिर्वाचनका लागि कति संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भन्ने कुरा भने खुलाइएको छैन ।

भोलि मध्यरातिवाट मौन अवधि सुरु हुँदै
मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनको लागि बुधवार (भोलि) मध्य रातिवाट निर्वाचन मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरु भएपछि कुनैपनि उम्मेदवारको पक्ष र विपक्षमा प्रचार प्रशार गर्न पाइदैन । मुख्य निर्वाचन अधिकृत बुधवार रातिदेखि उम्मेदवारका पक्ष र विपक्षमा देखिने खालका कुनैपनि गतिविधि गर्न नपाइने बताए । यो आचार संहिता आमसञ्चार माध्यमलाई लागु हुने छ । त्यस्तै व्यक्ति विषेशले पनि एसएमएस वा सामाजिक सञ्जालमा कुनैपनि उम्मेदवारको पक्ष र विपक्षमा कुनैपनि कुरा तथा प्रचार सामाग्री पठाउन तथा लेख्न नपाइने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

मंसिर १४ गते जिल्लाको दुई स्थान घोराही १६ र निर्वाचन क्षेत्र नं. ३ (२) मा उपनिर्वाचन हुँदैछ । वडा अध्यक्ष र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुन गइरहेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *