शरद रेग्मी, गंगटे, मंसिर ७ । पश्चिम दाङको बिकट मानिने बबई गाउँपालिकाको गंगटेमा जिल्ला निर्वाचन कार्यालय दाङको टोली पुगेको छ ।
शुक्रबार वडा नम्बर १ को मतदान स्थल सरस्वती माबिमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाको नेतृत्वमा जिल्ला सुरक्षा समितिसहितको सयुक्त टोली गंगटे पुगेर स्थलगत अनुगमन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाल,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक जनक भट्टराई,रिपुमर्दन गण घोराहीका प्रमुख शेनानी सुमन थापा,ज्वाला माई गण भालुबाङका प्रमुख एससी नारायण श्रेष्ठ लगायत निर्वाचन कार्यालयका कर्मचारीहरु स्थलगत अनुगमनका लागि गंगटे र मलई पुगेर मतदान स्थलको अबलोकन गरेको हो ।
निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा र मतदान केन्द्रहरुको अबस्थाका बारेमा जानकारी लिन सबै मतदान केन्द्रहरु निरिक्षण गरिएको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए ।
मतदान अधिकृत,सहाय अधिकृतहरु सहित मतदानमा खटिने सबै कर्मचारीलाई आइतबार र सोमबार जिल्लामा तालिम दिने तयारी गरिएको उनले बताए ।
निर्वाचन सफल पार्न जिल्लामा चार सय भन्दा बढी कर्मचारीलाई परिचालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । पश्चिम दाङको भौगोलिक बिकटतालाई मध्यनजर गर्दै व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।
निर्वाचन बिरोधि गतिविधि गर्ने समुहको पहिचान भइसकेको हुँदा तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई निर्देशन दिइएको रिजालले जानकारी दिए ।
बिगतका निर्वाचन जस्तै सबै सुरक्षा सम्यन्त्रहरु परिचालन गरिसकेको छ । भित्री घेरामा नेपाल प्रहरी, त्यो भन्दा बाहिरी शसस्त्र प्रहरी र सबै भन्दा बाहिरी घेरामा नेपाली सेना सुरक्षाको लागि खटिने प्रजिअ रिजालले जानकारी दिए ।
उनले केही दिनमै नेपाली सेना समेत परिचालन हुने भन्दै हाल सेनाले सबै स्थानमा गस्ती जारी राखेको बताए । स्वतन्त्र पूर्वक ढुक्कका साथ मतदानको व्यवस्था मिलाइएको बताएका प्रजिअ रिजालले कतै कुनै खालको समस्या देखिए तत्काल नजिकका सुरक्षाकर्मीलाई जानकारी दिन अपिल समेत गरेका छन् ।
पश्चिम दाङमा दर्जन बढी सुरक्षा पोष्ट
सुरक्षा ब्यबस्था चुस्त राख्न पश्चिम दाङमा मात्रै दर्जन बढी चेकपोस्ट र बेश क्याम्पहरु स्थापना गरिएको छ ।
गहते खोला पुल, हेकुली, हापुरे, गंगटे, मलई लगायतका स्थानहरुमा निर्वाचनलाई मध्यनजर गर्दै नयाँ पोष्टहरु स्थापना गरिएको र व्यापक रुपमा सुरक्षा चेकजाँच अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
उनका अनुसार अति सबेदनशिल मतदान केन्द्रहरु बागखोर,गंगटे,मलई ,भलानेटी लगायतका स्थानमा नेपाली सेनाको टोली खटाउने तयारी भएको छ।
घोराही वडा नं। १६ र निर्वाचन क्षेत्र नं। ३ ९२०मा गरि जिल्लामा ३४ मतदान केन्द्रमा ८२ वटा मतदान स्थलहरु तोकिएको छ ।