२०८१ असोज २४ गते बिहिवार

गंगटेका स्थानीयलाई ठेक्काको काममा जवरजस्ती श्रमदान


गंगटे,मंसिर ६ । बबई गाउँपालिका वडा नं. १ गगंटे निवासी ३२ बर्षीय बुद्धि विकले सिम्लेको लेखमा निर्माण गर्ने भनिएको टेलिकमको टावरमा श्रमदान गर्न गएनन् । यद्यपी अरु सबै गाउँले श्रमदान गर्न गए । विकलाई ठेक्कामा गएको काम श्रमदान गर्न पर्दैन भन्ने थाहाँ थियो । श्रमदान गर्दा ३÷४ घन्टा बालुवा गिट्टी र सिमेन्ट बोकेर पहाडमा उक्लिनु पर्दन्थ्यो ।

नेकपा वाट निर्वाचित वडा अध्यक्ष खड्क कँवरले ठेक्कामा गएको टावर निर्माणमा वडावासीलाई जवरजस्ती श्रमदान गर्न लगाएको विकले बताए । ‘श्रमदान गर्न नजालेलाई दैनिक एक हजार जरिवाना भन्ने थियो,तर, म गएन,’ विकले भने ‘म संग जरिवाना बाफतको एक हजार माग्न आए,तर मैले दिएन।’ विकले जतिबेला नेमस्तेको टावर निर्माण भएर फोन लाग्छ त्यतिबेला मात्रै जरिवाना बाफतको रकम तिर्छु भन्ने जवाफ दिएर फर्काइदिएको बताए । यो गतसाल फागुन चैत महिनाको कुरा थियो ।

तर,स्थानीय ४० बर्षीया ओमकली कुँवरपनि जरिवाना तिर्नुपर्ने डरले श्रमदान गर्न गइन । उनको भागमा श्रमदान बाफतको तीन बोरा सिमेन्ट बोकेर सिमलेको लेखमा लैजानु पर्ने भागवण्डा परेको थियो । त्यो उनले ४ दिन लगाएर माथि लेखमा बोकेर लैजान सकिन । ‘कठ्ठा फोडेर लैजान्थिम, त्यो उकालोमा भारी बोकेर हिड्न सित्तै कष्ट थिएन,’ कँवरले थपिन ‘ पानी बोक्ने मानिस छुट्टै हुन्थे,एक गाग्री पानी माथि पुग्दासम्म खाएर सकिन्थो।’

चारदिन श्रमदान गरेपछि गाउँले संगै कँवरले थप कामपनि गरिन । थप काम गरेको पैंशा दिने भन्ने आश्वासन ठेकेदारले बाँडेका थिए । तर झन्डै बर्षदिन पुग्नै लाग्दा समेत स्थानीयले थपकाम गरेको पैंशा समेत पाएका छैनन् ।

बोरामा सिमेन्ट बोकेर विहान ७ बजे हिडेको विहान ९÷१० बजेतिर ठाडो उकालो चढेर वडाभरीका स्थानीयले श्रम गरेको रकम समेत ठेकेदारले अझैं दिएका छैनन् ।

गतवर्षको फागुन महिनामा वडा कार्यालयले ठेकेदारको काममा श्रमदानको उर्दी जारीगरेपछि सिंगो वडाबासी जरिवाना तिर्नुपर्ने त्रासमा थिए । ७१ बर्षीय मोतिलाल कुँवरपनि जरिवानाको त्रासले सिमेन्टको भारी बोक्न विवश थिए । ‘जरिवाना तिर्न पैंशा थिएन, के गर्नु सबै जानुपर्छ भन्ने उर्दी जस्तै थियो,त्यसैले सकिनसकी सिमेन्टको भारी बोकेर पहाडमा पु¥याएर पालो कटाँए,’ कँवरले भने । जेष्ट नागरिक कँवरले वडा अध्यक्ष खड्क कँवरले आएर ठेकेदारलाई डेढदेखि दुई लाख सम्म घाटा पर्ने अवस्था आएको भन्दै सारा वडाबासीलाई श्रमदान गर्न लगाएको जानकारी दिए ।

तरपनि वडा बासीको फोन सेवा सुचारु गर्ने सपना भने अझैं सार्थक भएको छैन । टावर निर्माण गर्दागर्दै ठेकेदार बेपत्ता भए । त्यसैले हालसम्म पनि गंगटे जाँदा फोन लाग्दैन । ‘अझैं गंगटे स्वीच अफ छ,’ ७१ बर्षे कँवरले भने ।

तर वडा अध्यक्ष खड्ग कुँवर भने स्थानीयले लगाएको आरोप मान्न तयार भएनन् । आफ्नो गाउँ ठाउँमा फोन सेवा सुरु गर्न श्रमदान गर्न स्थानीयले राजिखुसी श्रमदान गर्न गएको उनले जिकिर गरे । स्थानीयले भने वडा अध्यक्षले झुट कुरा गरेको बताए । अन्य स्थानीयहरुले पनि स्थानीय सरकार र ठेकेदारका बीचमा आर्थिक लेनदेन तथा मिलेमतोको आशंका व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *