यमकला भुसाल,तुलसीपुर,५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पुर्वमन्त्री दिपक बोहोराले भारतले सीमा मिचेको बिषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन ।
रिपोर्टस् क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बोहोराले यस्तो बताएका हुन । उनले भने,‘– भारतले नेपाली भुमीलाई मिचेर नक्सा सार्वजनिक गर्दा समेत सरकारले उसकै समर्थन गरेको छ,यो विषयमा सरकार अलि गम्भिर बन्न आवश्यक छ ।
त्यस्तै उनले देशको राष्ट्रियतालाई चुनौती आउँदा यसलाई रोक्न नसक्नु सरकारको कमजोरी रहेको पनि बताए । उनले दुई तिहाइको सरकार आए देखि देशमा भ्रष्टचार मौलाएको टिप्पनी गरे । देशमा दुई तिहाइको सरकार आए देखि भ्रष्टचार मौलाएको छ,उनले भने,‘–भ्रष्टचार बढ्दै गर्दा देश पनि कमजोर बन्दै गएको छ ।
दुई तिहाईको सरकार उन्मादमा रहेको भन्दै नेता बोहोराले जनताको चाहे अनुसार काम गर्न नसकेको आरोप पनि लगाए । अहिलेको सरकार दुई तिहाई उन्मादमा छ,उनले भने,– जनताले चाहे अनुसार काम पनि गर्न सकेन,सचिवालयको हेरफेरमा दिन कटाउने काम भैरहेको छ ।
त्यस्तै देशलाई स्थायी शान्ति दिन सविंधानको परिधी भित्र रहेर आफु र आफ्नो पार्टीले राजा सहित संघिय लोकतान्त्रीक सरकारको अपेक्षा गरेको उनको भनाई छ ।
फोटो – चेतन रेग्मी
रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिंग्देलले सत्तापक्ष र प्रतिपक्षको काम प्रति जनता अष्तुष्ट रहेको बताए ।
जनता सामु व्यक्त गरेका प्रतिबद्धता पुरा गर्न नसक्नु सरकारको कमजोरी रहेको उनले बताए ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ क्षेत्र नं ३ (ख)का प्रदेश सभा सदस्यका उम्मेदवार भुपाल रावतले सरकारलाई सच्याउन यसपटक राप्रपालाई विजयी बनाउन मतदातालाई आग्रह गरे ।
उक्त कार्यक्रमको सहजीकरण रिपोर्टस क्लव दाङका महासचिव बिमल गौतमले गरेका थिए ।