नन्दराम खड्का,
होलेरी,मंसिर ४ । रोल्पाको होलेरी बजारमा फोहर थुप्रिन थालेको छ । उत्पादित फोहर व्यवस्थापन गर्न उचित ध्यान दिइएको छैन । ब्यसायी,यात्रु र बजार आउनेहरुले जथाभावी फोहोर फाल्दा सुन्दर बजार होलेरी कुरुप हुन थालेको भन्दै स्थानीयले चिन्ता जाहेर गरेका छन् । स्थानीय सरकारले बजार भित्र ठाउँ–ठाउँमा फोहोर राख्ने भाँडो राखेको भएपनि मनपरी फोहर फालिदै आइएको छ ।
मनपरी फोहर फाल्नेहरुलाई कसैले केही नगर्ने हुँदापनि फोहर बढ्दै गएको जानकारहरु बताउँछन्। १० बर्षे ससत्र युद्धको उद्गम थलो,स्वर्गद्वारी महाप्रभुको जन्मभूमी,धार्मिक तथा पर्यटकिय स्थल रुण्टी,तपोभुमी गढीलेख र शिब पार्वती गुफा जस्ता पर्यटकिय स्थलहरुको संगम स्थल रुण्टीगढी गाउँपालिकाको यो बजार फोहरले कुरुप बन्दै गएको छ ।
प्यूठानको स्वर्गद्वारी आवात जावात गर्ने पर्यटक यही बजार भएर जाने गर्छन । पर्यटन प्रबद्र्धन गर्न भन्दै अहिले गाउँपालिकाले बजार भित्रै भिडियो सूचना बोर्ड समेत स्थापना गरेको छ । तर फोहोर ब्यबस्थापन जस्ता सामान्य कुरामा कडाई गर्न चासो नदिदा बजारमा कुरुप बन्दै जान थालेको छ ।
स्थानिय सरकारले पर्यटन प्रर्बद्धनका नाममा ठूला सपना देख्ने तर स–साना कुराहरुको ब्यवास्ता गर्दा यस्तो समस्या उत्पन्न भएको गढीलेख धार्मिक तथा पर्यटकीय संरक्षण सस्थाका अध्यक्ष ऋषीराम श्रेष्ठले तर्क गरे ।
उनले भने ‘यहाँ पर्यटन प्रबद्र्धन गर्न बिकाश सम्मेलन,राष्ट्रिय अक्षर महोत्सव जस्ता कार्यक्रमहरु गर्दापनि फोहोर ब्यबस्थापन गर्नमा चासो नदिनु कमजोरी हो।’
जथाभावी फोहर फाल्ने ब्यबसायी र यात्रुलाई सजायको व्यवस्था हुनुपर्ने उनले सुझाए । उनले घर अगाडिको फोहोर ब्यबस्थापन नगर्नेलाई जरिवाना गर्ने जस्ता नीति बनाएर कार्यान्वयन गर्न सके फोहर व्यवस्थापन गर्न सजिलो हुने धारणा राखे ।
तर पहिलेको भन्दा अहिले फोहोर मैलो ब्यबस्थापन राम्रो संग गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष तथा रुण्टीगढी गाउँपालिकाका प्रबक्ता जगतबहादुर घतीले दाबी गरे । बजारमा फोहोरदानी राखिनु तथा हप्तामा दुई पटक फोहर उठाउनुले राम्रो व्यवस्थापन भएको उनले बताए ।