दाङ,मंसिर ४ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले मंसिर १४ गतेको उपनिर्वाचन नेपाली काँग्रेसजनहरुका लागि अग्नी परीक्षा समान रहेको बताएका छन् ।मंगलवार शान्तिनगर गाउँपालिका वडा नं. ७ को दुविचौरमा आयोजित चुनावीसभालाई सम्बोधन गदै नेता गिरीले मंसिर १४ गतेको उपनिर्वाचन मिनी जनमत संग्रह जस्तै भएको तर्क गरे । ‘यो उपनिर्वाचन काँग्रेसका लागि सेमिफाईनल जस्तै हो,’ नेता गिरीले भने ‘यो निर्वाचनमा काँग्रेस उम्मेदवार केशव आचार्यलाई विजयी बनाएर तीन वर्षपछि हुने निर्वाचनको विजयको झन्डा गाड्नुहोस।’
नेता गिरीले वर्तमान कम्युनिष्ट सरकारले आफुलाई अधिनायकत्व तर्फ अगाडि बढाउँदै लगेको भन्दै त्यो रोक्नका लागि काँग्रेस उम्मेदवार आचार्यलाई विजयी गराउन आग्रह गरेका थिए । सरकार भ्रष्टचारमा चुर्लुम्म डुवेको तथा विभिन्न काण्डै काण्डमा फसेको हुँदा काँग्रेस त्यसैको बर्खिलापमा आफ्नो उम्मेदवारको साथ मतदाताको अभिमत माग्न आएको काँग्रेस उनले बताए । देशको राष्ट्रियता रक्षाको लागि, अधिनायकत्वतिर बढी रहेको सरकारलाई समाप्त गर्न र भ्रष्टचार उन्मुलन गर्नको लागि काँग्रेसले जित्न जरुरी रहेको नेता गिरीले तर्क गरे ।
उनले मुख्य मन्त्री शंकर पोखरेलले काँग्रेसले निर्माण गरेका पुलहरु उद्घाटन गरेर त्यो आफुले निर्माण गरेको भ्रम छर्दै हिडेको भन्दै रोष प्रकट गरे । ‘कम्युनिष्टहरुले पहिले पनि यस्तै जाली कुरा गरेर तपाँईहरुलाई झुक्याएका हुन,’ नेता गिरीले भने ‘ आफुले विकाशको सिन्को समेत नभाँचेकाहरुले चुनावको समयमा फेरि त्यसैगरी झुक्याउन खोज्दै छन् । तपाँई मतदाता सचेत रहनु होला।’
दाङ क्षेत्र नं. ३ (२) का प्रदेशसभा सदस्य पदका उम्मेदवार आचार्यको पक्षमा मत माग्ने र विजयी बनाउने उदेश्यका साथ काँग्रेसले गर्दै आएको चुनावी सभामा पूर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मी, पूर्व सांसद गेहेन्द्र गिरी, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, पूर्व सांसद योगेन्द्र चौधरी लगाएतले सर्वहारा बर्गको कुरा गरेर नथाक्ने कम्युनिष्टहरुले धन संग्रहमा तल्लिन रहेको बताएका थिए ।
जनतामाथि करको भारी थोपरेर कम्युनिष्टहरु पूर्वराजाहरु भन्दापनि विलाशी जीवन सैली र सुख सयलमा रमाई रहेको उनीहरुको आरोप थियो । राष्ट्रपतिले ३ अर्व हेलिकोप्टर किन्नु र राष्ट्रपति निवास बाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जान हेलिकोप्टर चढ्नुले त्यसैको आभास दिलाएको उनीहरुले बताएका थिए । हत्या हिंसाको राजनीति गर्दै सत्तामा पुगेकाहरुले सत्तामा पुगेपछि ठिक विपरित चरित्र प्रदर्शन गर्ने गरेको हुँदा कम्युनिष्टहरुको पतन अब कसैले रोक्न नसक्ने उनीहरुले बताए ।
शान्तिनगर गाउँपालिका वडा नं. ७ का सभापति ताराबहादुर वलीको अध्यक्षतमा भएको उक्त कार्यक्रमलाई काँग्रेसकी जिल्ला कोषाध्यक्ष सावित्रा राणा, युवा नेता निर्मल आचार्य, शिक्षक संघका जिल्ला सदस्य रामबहादुर केसी, नेतृ अमृता न्यौंपाने, यादव चौधरी लगाएतले सम्वोधन गरेका थिए । नेपाली काँग्रेस शान्तिनगर गाउँपालिकाका सचिव दिलिप बस्नेतको स्वागत मनतब्य बाट कार्यक्रम सुरु भएको थियो ।