दाङ, कार्तिक २८ ।
नेपाली काँग्रेसका प्रदेशसभा सदस्य पदका उम्मेदवार केशव आचार्यले आफूलाई विजयी गराए कहिलै मतदाताको शिर निहुरिन नदिने प्रतिवद्धता जाहेर गरेका छन् । दाङको निर्वाचन क्षेत्र नं. ३ (२) मा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि काँग्रेसका उम्मेदवार आचार्यले आफूले लामो समयदेखि निष्ठाको राजनीति गर्दै आएको भन्दै आफूलाई विजयी बनाउन आग्रह गरे ।
फरक कोणसँगको सम्वादमा काँग्रेस नेता आचार्यले भने– ‘मलाई विश्वास गर्नुस्, मलाई विजयी गराउनुहोस्, म तपाईहरूको एक–एक मतको सही सदुपयोग गर्नेछु, तपाईहरूको शिर कहिलै निहुरिन दिने छैन ।’ उनले आफूले सधैभरी निष्ठाको राजनीति गरेको भन्दै जनताको सेवाको लागि हाल उम्मेदवारी दिएको स्पष्ट पारे ।
‘मेरो जोडाको स्वर्गवास भइसक्यो, मेरो छोरा छैन, छोरीको विहे भइसकेको छ,’ आचार्यले अगाडि भने ‘त्यसैले मलाई धन कमाउने लालच पनि छैन ।’ उनले नेपाली काँग्रेसको एक सिपाही र बिपीको सच्चा अनुयायी हुनुको नाताले देश र जनताको सेवा गर्नुभन्दा अर्को उद्देश्य नभएको स्पष्ट पारे ।
विक्रम सम्वत २०४८ सालमा आफू स्वर्गीय नेता खुमबहादुर खड्काको चुनताव प्रचारप्रसार समितिको संयोजक भएर काम गरेको स्मरण गर्दै नेता आचार्यले जिल्लामा नेता खुमबहादुर खड्का र नेता दीपक गिरीले बसालेको विकासको जगमा थप इट्टा थप्न आफूले उम्मेदवारी दिएको बताए ।
बिपीको समाजवादको सपना साकार पार्न र प्रजातन्त्रको रक्षाको लागि आफूले उम्मेदवारी दिएको नेता आचार्यले बताए । ‘यो निर्वाचन जनमत संग्रहजस्तै हो । नेपाली काँग्रेसको लागि अग्नीपरीक्षा हो’ उम्मेदवार आचार्यले भने । लोकतन्त्रका पक्षपाती सबै एकढिक्का नभए भविष्यमा लोकतन्त्रको चिरहरण गर्नेहरूलाई बल पुग्ने भन्दै एक मत पनि खेर नफाल्न आग्रह गरे ।
नेकपा त्यागेर दर्जनौ कार्यकर्ता काँग्रेसमा पार्टी प्रवेश
सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दर्जनौ कार्यकर्ता उक्त पार्टी परित्याग गरी नेपाली काँग्रेस पार्टीमा पार्टी प्रवेश गरेका छन् । बिहीबार नेपाली काँग्रेसले बबई गाउँपालिका वडा नं. ६ पञ्चकुले कैलाशपुरमा आयोजना गरेको चुनावी सभामा दर्जनौं नेकपाका कार्यकर्ता उक्त पार्टी परित्याग गरी नेपाली काँग्रेस पार्टीमा पार्टी प्रवेश गरेको नेपाली काँग्रेस चुनाव प्रचारप्रसार समितिले दाबी गरेको छ ।
त्यसैगरी बबई गाउँपालिका वडा नं. ३ को हंसपुरमा आयोजित चुनावी सभाका क्रममा पनि नेकपाका दर्जनौं नेता कार्यकर्ता उक्त पार्टी परित्याग गरी नेपाली काँग्रेस पार्टीमा पार्टी प्रवेश गरेको नेपाली काँग्रेसले जानकारी दिएको छ ।
कौसिलापुरमा नेकपा त्यागेर काँग्रेसमा पार्टी प्रवेश गरेकाहरू । तस्विर– फरककोण