२०८२ असार ३१ गते बुधवार

रोल्पाको थवाङमा विप्लवका स्वतन्त्र उम्मेदवार

रोल्पा,२७ कार्तिक ।  रोल्पाको थवाङ गाउँपालिका १ मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका पार्टीका एक नेताले उम्मेदवारी दर्ता गराएका छन । थवाङ वडा नम्बर १ मा रिक्त अध्यक्ष पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनका लागि बुधबार निर्वाचन अधिकृत कार्यालय पुगेर भद्रकुमार झाँक्रीले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षमा उम्मेदवारी दिन वडा नम्बर १ का निर्वा्चित सदस्य समेत रहेका झाँक्रीले मंगलबार गाउँपालिका अध्यक्ष बीरबहादुर घर्ती मगरलाई राजीनामा दिएका थिए । मगंलवार राजीनामा दिएर उनी बुधवार उम्मेदवारी दिन योग्य भएका हुन ।

उनको राजीनामा मगंलवार नै स्वीकृत भएको अध्यक्ष मगरले जानकारी दिए । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष फर्कबहादुर बुढासहित सबै प्यानल स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

निर्वाचन आयोगमा पार्टी दर्ता नभएकोले त्यसबेला विप्लव पार्टीले चुनावमा भाग लिन मिल्दैनथ्यो । सोही कारण उनीहरूले कांग्रेससँग तालमेल गरी स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।

वडाध्यक्षका लागि बुधबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट जनककुमार बुढा, नेपाली कांग्रेसबाट कमल रोका र स्वतन्त्रबाट विप्लवका झाँक्रीले उम्मेदवारी दर्ता गराएका हुन ।

सरकारले विप्लव नेतृत्वको पार्टीलाई गत फागुनदेखि प्रतिबन्ध लगाएको छ । तर गाउँपालिका अध्यक्ष मगरले भने चुनाव कसले जित्छ अहिल्यै अनुमान गर्न नसकिने बताए ।

 

प्रकाशित मिति : २०७६ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *