२०८३ असार १२ गते शुक्रवार

लुहाममा बन्यो बृद्धाश्रम, फागुनदेखि सञ्चालनमा आउने


शंकर के.सी.
सल्यान, २६ कार्तिक ।
सल्यानको लुहाममा निर्माण भएको वृद्धाश्रम आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ । त्रिवेणी गाउँपालिकाले जिल्लामै पहिलो पटक निर्माण गरेको वृद्धाश्रम यस वर्षबाटै सञ्चालनमा ल्याउने तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले बताए ।

‘जीवनभर राष्ट्रलाई योगदान गरेका जेष्ठ नागरिकहरु, जो अशक्त, आर्थिक रुपमा विपन्न, विचल्लीमा परेका हुन्छन्, बुढेसकालमा कहाँ जाने ? सहारा त चाहियो, त्यही भएर वृद्धाश्रम निर्माण गरेका हौँ’ डाँगीले भने ।

आव २०७५÷०७६ मा विनियोजन भएको २० लाख रुपैयाँको लागतमा दुईकोठे भवन निर्माण भएको हो । वृद्धाश्रम सञ्चालनको लागि लुहामस्थित त्रिवेणी तीर्थशाला धाम सञ्चालक समितिलाई जिम्मेवारी दिइएको र छिट्टै जेष्ठ नागरिक समाज पनि गठन गरिने उनले बताए ।

‘जेष्ठ नागरिक समाजले पनि वृद्धाश्रम सञ्चालनमा सहयोग गर्छ’, अध्यक्ष डाँगीले भने, ‘गाउँपालिकाबाट पनि वृद्धवृद्धाहरुको स्वास्थ्य उपचार, राज्यबाट प्रदान गरिने सेवा सुविधा आश्रममै गएर उपलब्ध गराईन्छ ।

त्यसले पुगेन भने थप सुविधा गाउँपालिकाले उपलब्ध गराउँछ ।’ वृद्धाश्रमका लागि यस वर्ष पनि गाउँपालिकाले बजेटको ब्यवस्था गरेको छ । यस वर्ष ५ लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष डाँगीले बताए ।

उक्त रकमबाट भान्साकोठा निर्माण गरिने छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै दुईवटा कोठाको ब्यवस्था भएको आश्रममा एउटा कोठामा कम्तीमा पनि १० जना बस्न सक्ने गाउँपालिकाले जनायो । वृद्धाश्रममा शौचालयको पनि व्यवस्था भइसकेको छ ।

वृद्धाश्रम सञ्चालनका लागि छुट्टै एउटा कोष पनि स्थापना गरिने डाँगीले बताए । बृद्धाअवस्थामा विशेष सहारा आवश्यकता पर्ने भएकाले गाउँपालिकाले वृद्धाश्रमको अवधारणा ल्याएको उनको भनाई छ ।

बृद्धाश्रम निर्माणपछि लुहामस्थित त्रिवेणी तिर्थशाला धाम क्षेत्रमा धार्मिक आस्था बृद्धि र पर्यटन विकासका लागि थप काम गर्ने गाउँपालिकाको योजना छ । यसअघि जिल्लामा कुनै पनि स्थानमा वृद्धाश्रम निर्माण नभएको अध्यक्ष डाँगीले बताए । उनले भने, ‘मैले बुझेसम्म जिल्लामा एउटा पनि वृद्धाश्रम निर्माण तथा सञ्चालनमा आएका छैनन् । हामीले लै पहिलो पटक निर्माण गरेका हौँ ।’

गाउँपालिकाको आफ्नै खेल मैदान

यसैबीच गाउँपालिकाको आफ्नै खेल मैदान पनि रहेको जानकारी दिए । रिखे बजारमा २० लाख रुपैयाँको लागतमा गाउँपालिकाले खेल मैदान निर्माण गरेको हो । गाउँपालिकाले यस वर्षदेखि सम्पूर्ण खेल आफ्नै मैदानमा खेलाउने अध्यक्ष डाँगीले जानकारी दिए ।

गाउँपालिकाले ११०÷११० मिटरको खेल मैदान निर्माण गरेको छ । ‘दोस्रो अध्यक्ष कपअन्तर्गत गाउँपालिकास्तरीय सम्पूर्ण खेलहरु आगामी मंसिर ४, ५ र ६ गते रिखे बजारमा रहेको आफ्नै खेल मैदानमा सञ्चालन गर्दैछौँ’ उनले भने ।

अहिले छनौट खेलहरु सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ । दोस्रो अध्यक्षकप अन्तरविद्यालय खेलाडी छनौट प्रतियोगिता सोमबार वडा नम्बर २ को काँरागिठीमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

बालबालिका, युवा, बृद्धबृद्धा, महिला, दलित, अपांगता भएका तथा पिछडिएको वर्गका नागरिकहरुलाई लक्षित गरी गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको अध्यक्ष डाँगीले बताए ।

प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *