छबी पुरी,
दाङ,कात्तिक २२ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले अबको दुई वर्षमा नेपाल पूर्णरूपमा अन्धकार मूक्त हुने दावी गरेका छन् । उर्जाको विभिन्न क्षेत्रहरुको पहिचान गरी उर्जा उत्पादनमा सरकारको ध्यान विशेष रूपमा केन्द्रित रहेको र विद्युत उत्पादन पनि धमाधम भइरहेकले देश पूर्णरुपमा अन्धकार मुक्त हुने उनले दाबी गरे ।
दाङको झिङ्ग्नीमा रहेको लमही–घोराही १३२ केभी प्रशारण लाइन तथा घोराही १३२ केभी सवस्टेशनको शुक्रबार उद्घाटन गर्दै उर्जामन्त्री पुनले नेपालमा रहेका करीव २३ हजार बढी नदी नाला मध्ये प्रयोगमा ल्याउन सकिने १२ हजार बढी नदी नालाको संरक्षणसँगै उपभोगमा सरकारको ध्यान गम्भीर रूपमा पुगेको बताए ।
ती नदीनालाहरू बाट विद्युत उत्पादन, ¥याफ्टङ वा मनोरञ्जनका क्षेत्रमा प्रयोग गर्न सक्ने गरी गृहकार्य शुरू भइसकेको उनले जानकारी दिए । उनले भने, ‘देशमा सानाठूला गरी २३ हजार बढी नदी नाला छन, ती नदी नालाको संरक्षण गर्दै उच्चतम प्रयोग गरी देश विकासको यात्रामा सँगै जोडेर लैजाने काम भइरहेको छ ।’
यस्तै, उनले देश विकासको मुख्य मेरूदण्डको रूपमा नेपालको विद्युत क्षेत्रले भूमिका खेलिरहेको दावी गरेका छन् । मन्त्री पुनले अहिले नेपालको आर्थिक वृद्धि दरमा सुधार हुँदै जानुमा उर्जा क्षेत्रको योगदान नै मुख्य कारक रहेको दाबी गरे । अहिले नेपालमा भईरहेको औद्योगिकरण र शहरीकरणको तीव्र विकासमा सहज विद्युत आपूर्ती हन नसक्दा कतिपय काममा बाधा पुगिरहेको गुनासो आउने गरे प्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो ।
ठूला शहरका लागि चाहिने विद्युत तथा जिल्ला स्तरमा पनि ठूला उद्योग स्थापना गरी सहज ढंगले संचालनको वातावरण बनाउने बन्दै गएकाले यस प्रति चिन्ता व्यक्त नगर्न आम उद्योगी तथा सरोकार पक्षलाइ अनुरोध गरे । उनले भने, ‘यहाँहरूले स्थापना गर्ने ठूला परियोजना वा उद्योगहरूमा आवश्यक विद्युत पाइँदैन कि भनेर चिन्ता नलिनुस, म ग्यारेन्टीका साथ भन्छु, अब ढुक्क भएर विद्युत प्रयोग गर्न सक्नुहुन्छ, तपाइलाई जति विद्युत चाहिन्छ, हामी उपलब्ध गराउँछौं। यो मेरो प्रतिवद्धता भयो ।’
अझैपनि कतिपय कार्यशैली तथा सोचका कारण सामाजिक विकासमा कही कतै विकास अवरोधका अवशेष देखिने भएकाले स्थानीय सरकारले संस्था वा कार्यालयका काममा सकारात्मक कदम चाल्न भूमिका बढाउने पर्नुपर्ने मन्त्री पुनको सुझाव छ । उनले हरेक निकायको कार्यशैलीमा परिवर्तन गर्न जरूरी रहेको औंल्याएका हुन् । ‘देश विकासका लागि सुशासन बिना सम्भव नरहेकाले राज्य प्रणालीको सुधार गर्नुपर्ने ठाउँमा कहाँ कसरी गर्नु पर्छ सबै मिलेर गरौं तर उही पुरानै शैलीमा अघि बढ्ने चेष्टा गर्याैं भने देश विकासको परिकल्पना एकादेशको कथा मात्रै हुनेछ’, उनले भने ।
उनले यसमा सबैभन्दा बढी भूमिका स्थानीय सरकारको रहेकाले सबैमा सकारात्मक सोचको विकासमा ध्यान केन्द्रित गरी सरकारले अघि सारेको विकास र समृद्धिको यात्रामा साथ दिन अपिल गरे ।
वि.सं. २०६८ माघ २६ गते थालनी गरिएको सो प्रशारण लाइनको काम २०७५ असोज १० गते सम्पन्न भएको हो । करीव सवा ५३ करोडको लागतमा निर्माण गरिएको सो प्रशारण लाइनले दाङका ग्रामीण क्षेत्र सैघा, स्यूजा, घोराहीका विभिन्न स्थानलगायत तुलसीपुर उपमहानगरका अधिकांश स्थानमा सहज विद्युत आपूर्ति गर्दै आएको छ । यस अघि नियमित तथा कम विद्युत प्रशारण हुँदा उपभोक्ताले सास्ती भौग्न बाध्य थिए भने ठूला काम गर्न समस्या रहेको थियो । सो प्रशारण लाइनका कारण ४० हजार बढी उपभोक्ता अहिले प्रत्यक्ष लाभान्वित भएका छन् ।