रौतहट,कात्तिक १८। नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा मुद्दा पेश गरेको छ ।
१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । आलम सहित १० जनालाई जन्मकैदको माग गर्दै अदालतमा जाने निर्णय भएको रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवालले जानकारी दिए ।
उनका अनुसार एक जनालाई भने मतियार भन्दै मुद्दा चलाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको अनुसन्धानबाट २०६४ चैत २७ गते रौतहटको राजपुर( ४ मा बम विस्फोट हुँदा केही मानिस मरेको र केही घाइते भएको प्रतिवेदन शुक्रबार सरकारी वकिललाई बुझाएको थियो ।
रौतहटको सरूअठ्ठाका ओसी अख्तर र त्रिलोक सिंह पिन्टु उक्त बम विष्फोटमा मारिएको तथा सर्लाहीका सफी अहम्मदसमेत दुई जना घाइते भएको अनुसन्धानबाट भएको पुष्टि भएको रौतहट प्रहरीका प्रवक्ता तथा डिएसपी नविन कार्कीले बताए ।