२०८१ असोज २९ गते मङ्गलवार

छिल्लीकोटमा नाम मात्रैको स्वास्थ्य इकाई

यमकला भुसाल, तुलसीपुर,कार्तिक १८ ।  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोटमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको ३ वर्ष भयो । गाँउमा स्वास्थ्य इकाई स्थापना हुँदा स्थानीय धेरै हर्षित भए ।

‘गाउँमा स्वास्थ्य इकाई स्थापना भएपछि अब बाहिर उपचार गराउन जानु पर्देन होला भन्ने सोचेकी थिए’,–स्थानीय धना नेपालीले भनिन्,’–‘तर, हामीले आशा गरे अनुरुप केही भएन, त्यसैले स्थानीय निराश छन् ।’ नेपालीका अनुसार त्यहाँ सामान्य स्वास्थ्य परिक्षण मात्र हुने गर्छ । प्रसुती चेकजाँच हुँदैन । गर्भवति महिला तुलसीपुर र घोराही पुग्नुपर्ने बाध्यता छ ।

‘हामी बिरामी भएपछि ४÷५ घण्टा हिडेर तुलसीपुर,घोराही जानुपर्छ । गाउँमा स्वास्थ्य इकाई रहेपनि त्यो नाम मात्रैको छ,’ नेपालीले भनिन् । स्थानीय बासी प्रकाश पुनले पनि स्वस्थ्य इकाईमा राज्यले प्रदान गर्ने त्यस्तो कुनैपनि सेवा सुविधा नरहेको बताए । ‘ न औषधी हुन्छ र स्वास्थ्य कर्मी नै । त्यसमा पनि महिला स्वास्थ्य कर्मी नहुँदा महिलालाई बढी समस्या छ।’

स्वास्थ्य इकाईमा रुघाखोकी र सामान्य ज्वरोको औषधी मात्र पाउने गरेको पुनले बताए । ‘आजपनि यहाँका स्थानीयले बिरामीलाई ४÷५ घण्टा पिठ्यूमा बोकेर वा हिडाएर जिल्ला अस्पताल सम्म लैजानु पर्ने बाध्यता छ,’ पुनले भने । स्वास्थ्य इकाई छिल्लीकोटका अहेब राजबन्धु नेपालीले स्थानीयको गुनासो बारे कुरागर्दा दरबन्दी अनुसार चिकित्सक नहुँदा समस्या भएको प्रतिक्रिया दिए ।

एक जना अहेब,एक जना अनमी र एक जना कार्यालय सहयोगी गरि तीन जनाको त्यहाँ दरबन्दी हो । तर, अहिले त्यहाँ एक जना कार्यालय सहयोगी र एक जना अहेब मात्रै रहेको नेपालीले बताए । स्वास्थ्य इकाईमा एउटा मात्र कोठा भएकाले बिरामी चेकजाँच गर्न कठिन रहेको उनले गुनासो गरे ।

‘एउटा मात्र कोठा छ, दैनिकी ५÷६ जना बिरामी आउनुहुन्छ,सबै चेकजाँच यहि गर्नुपर्छ । त्यो सजिलो छैन,’ अहेव नेपालीले भने । स्वास्थ्य इकाईमा बिजुली बत्तीपनि छैन र सोलारको व्यवस्था पनि छैन ।

कहिले काही साझँ सम्म बिरामी आउँदा मोवाइलको लाइट बालेर विरामी हेर्नुपर्ने अप्ठेरो रहेको उनले जानकारी दिए । छिल्लीकोट बिकट ठाउँ हो । त्यसैले स्वास्थ्य इकाईमा औषधी सकिदा एक दिन बिदा लिएरै औषधी ल्याउन जानुपर्ने बाध्यता रहेको नेपालीले बताए ।

बजेट अभावका कारण भौतिक सरचंना थप गर्न समेत नसकेको अहेव नेपालीले गुनासो गरे । गत आर्थिक वर्षमा तुलसीपुर उपमहानगरपालिकाको ५० हजार सहयोगमा यहाँ एउटा सानो कोठा थप गरेको भएपनि त्यो प्रयाप्त छैन ।

थप गरेको एउटा कोठामा बजेट अभावले गर्दा पलस्तर ,रगंरोगन,झ्याल ढोका निर्माण लगाएको काम बाँकी नै रहेको अहेव नेपालीले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटा वडाहरु मध्ये वडा नं १९ बिकट र दुर्गम ठाउँमा पर्दछ ।

त्यहाँका स्थानीय अझैंपनि सडक, खानेपानी, बिजुली, स्वास्थ्य उपचारबाट बञ्चित रहेका छन् ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *