२०८० चैत्र १६ गते शुक्रवार

स्थानीयको जीवन परिवर्तन गर्न सहयोगी बन्दै स्थानीय सरकार

दाङ,कात्तिक ५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ को गहते खोलामा पक्की बाँध बाँधेपछि स्थानीयलाई खेतिपाती गर्न सहज भएको छ । संघीय बजेटले झुमरीया थारु कुलोलाई पक्की नहरको रुपमा परिनत गरिए पछि स्थानीय किसानका लागि त्यो आयआर्जनको स्रोत बनेको वडा अध्यक्ष घनश्याम ढकालले बताए ।

त्यो गहते खोलाको पानीले त्यहाँको झन्डै २२ सय हेक्टर जमिन सिंचाईको सुविधा पुगेको छ । स्थानीय मोतिराम योगीले पक्कि सिंचाई कुलो बनेपछि बाह्रै मास खेतिगर्न सजिलो भएको बताए । जहाँ बाह्रो मास मौसम अनुसारको तरकारी हुन थालेको छ । चैत बैशाखमा मकैखेति संभव भएको छ । यो वडाले सहकारी समुहलाई माछा पोखरी निर्माण गरिदिएर महिलाहरुलाई व्यवसाय उन्मुख बनाएको छ ।

तुलसीपुर वडा नं. १० अन्तरगतको बन्गै र पढ्ढा गाउँमा रहेका प्राकृतिक तालहरुलाई वडाको बजेटले विस्तार गर्ने तथा बाँध बाँध्ने जस्ता काम भएको छ । त्यसले पनि स्थानीयलाई खेतिपाति गर्न सजिलो भएको छ । सुख्खा मौसममा बस्तु चौपायालाई पानी खुवाउन सजिलो भएको छ । प्राकृतिक वातावरण नविग्रने गरि जैविक विविधता जोगाउन सजिलो भएको वडा नं. १० का वडा अध्यक्ष कुमार लामिछानेले बताए ।

वडाको १० लाख बजेटले बन्गै र गोलौरी गाउँमा डिप वोरिङ मर्मत र मोटर किनेपछ यहाँपनि बाह्रै मास सिंचाईको प्रवन्ध भएको छ । तर आवश्यकता अनुसार बजेट नपाउँदा चाहे अनुरुपले विकाश गर्न नसकेको वडा सदस्य शेरबहादुर खड्काले बताए ।

तुलसीपुर ११ नं. वडाले पनि सर्वसाधारणको जीवन परिवर्तन हुने कुरामा लगानी गरेको छ । उस्ले सुकौरामा बाँध निर्माण,नवलपुर बाटोको वरालोमा आरसिसी ढलान, वेलटाकुरामा पक्कि नाला निर्माण, आधारभुत विद्यालय कटाँहामा तारजाली लगाउनेदेखि स्थानीय हेल्थपोष्टमा प्रयोगशाला सञ्चालन गर्ने जस्ता फुटकर योजनाहरुमा लगानी गरेको छ । स्थानीय सरकार आएपछि जनताको लागि सबैभन्दा अति आवश्यक कुराहरु निर्धारण गरि काम गरेको वडा अध्यक्ष चित्रबहादुर वलीले बताए ।

‘बजेटले भ्याससम्म सर्वसाधारणको जीवन परिवर्तन गर्ने गरि काम गरिरहेका छौं,’ अध्यक्ष वलीले भने ‘कसरी हुन्छ स्थानीय स्तरमा रोजगारी सृजना गर्ने तथा स्थानीयलाई स्वाभलम्बी बनाउने हाम्रो प्रयास छ।’

वडा सदस्य सुवाश डिसीले स्थानीय सरकार हुनुको नाताले सिंचाई कुलो तथा नहर निर्माण, कलभर्ट निर्माण, विद्यालयको शैक्षिक अवस्था सुधारगर्न भौतिक पूर्वाधार निर्माणदेखि बालबालिकालाई दिवा खाजाको व्यवस्था र स्थानीय स्तरमा स्वास्थ्यको समस्या समाधान गर्न बढी जसो लगानी भएको जानकारी दिए ।

वडा नं. ९ को विकाशमा राम्रो प्रयास
भौतिक संरचना निर्माण र विकाश निमाणका सवालमा तुलसीपुरका १९ वटा वडा मध्य तुलसीपुर ९ नम्वर वडाले सबै भन्दा राम्रो प्रयास गरेको देखिएको छ । दुई अढाई वर्षको अवधिमा यो वडाले दर्जनजति बाटोहरु कालोपत्रे गरेको छ ।

विकासमा साझेदारी गर्दै वडा नं. ९ ले हरेक बस्तिका सडकहरु कालो पत्रे गरेको छ । अलि ग्रामिण भेगका वडाहरुमा सडक नाला निर्माण भइसकेका छन् भने केही समयको अन्तरलारमा कालोपत्रेको काम हुने वडा अध्यक्ष घनश्याम ढकालले बताए ।

यो वडाले विकाश निर्माणमा नमुना नै प्रस्तुत गर्न सफल भएको वडा अध्यक्ष ढकालले दाबी गरे । उपमहानगरपालिकाको ६० प्रतिसत र स्थानीको ४० प्रतिसत रकमले पातुखोला पश्चिम तर्फका सडकहरु धमाधम गल्ली गल्लीका सडकहरु कालोपत्रे गरिएका छन् ।

वडा नं. ९ मा चालु आर्थिक बर्षमा संघीय र प्रदेश सरकारको समेत गरि कम्तिमा १३ करोड बजेट विनियोजित भएको छ । गत आर्थिक वर्षमा पनि यो वडामा नगरका अन्य वडा भन्दा सबै भन्दा धेरै बजेट आएको थियो । त्यो सवालमा वडा नं. ९ सबैभन्दा लक्कि वडा मानिएको छ ।

वडा कार्यालयको विकाश बजेट सदुपयोग, संघीय र प्रदेश सरकारको तथा स्थानीयबासीको विकाश सहभागिताले वडाको विकाश निर्माणको सूचाङ्क अति नै राम्रो बनेको छ । यहाँको विकाश देखेर अन्य स्थानका वडा अध्यक्षहरुले समेत वडा नं. ९ लाई लक्की वडाको संज्ञा दिन थालेका छन् ।

तुलसीपुरको अटो भिलेजको आधा हिस्ता यही वडामा पर्छ । जहाँ पातुखोलामा तटवन्ध निर्माणमा लाखैं बजेट प्रदेश सरकारले लगाएको छ । यो वडाले गरेको अर्कौ महत्वपूर्ण कार्य भनेको पर्यटनलाई जोड्ने ड्रिमपार्क निर्माणको प्रयास गर्नुपनि हो । राप्ती आयुर्वेद अस्पताल र नगरस्तरिय स्वास्थ्य वडाले नवदुर्गा सामुदायिक वनमा पर्यटकीय विकाशको लागि परिकल्पना गरेको गुरुयोजनामा एउटा भ्युटावरको निर्माण, गेटदेखि पार्क घुमाउने घोडाको व्यवस्था गरिने वडा अध्यक्ष घनश्याम ढकालले बताए ।

आसपासमा स्थानीय बस्तुको उपभोग गर्न सकिने गरि रेस्टुरेन्ट निर्माण, फूलैफूलको बगैचा, घोडाबाट भ्यूटावर सम्मको अवलोकन गर्न सकिने गरि काम हुन लागेको अध्यक्ष ढकालले जानकारी दिए ।

वडा नं. १० बत्तिमुनिको अध्यारो समान
१० नं. वडामा जिल्लाकै सबैभन्दा ठूलो प्राकृतिक ताल छ । यो वर्ष त्यो ताल माछा पाल्नेले ५ लाखमा ठेक्का लिएका छन् । बार्षिक १० लाख सम्म गौरी ताल ठेक्कामा जाने गर्छ । तर यो तालमा हालसम्म नगरको एक रुपैंया बजेट पनि परेको छैन ।

यो वडाले गरेको राम्रो काम भनेको सिमित बजेटले वडा भर विजुली बत्ति विस्तार गर्नु र वडालाई टुक्किरहित
वनाउनुलाई नै मान्न सकिन्छ । यो वडामा जम्मा साढे ३ किलोमिटर सडक मात्रै कालो पत्रे छ । त्यो पनि सुकौरा सडक खण्ड र गौरीगाउँ सडक खण्डको सडक हो । बन्गाउँ गाउँदेखि विद्यालय जाने सडक खण्डमा यो पटक झन्डै साढे ३ सय मिटर जति सडक कालोपत्रे भएको छ । तर त्यो सडक मापदण्ड अनुरुप १२ मिटरको भने नरहेको स्थानीय पोषण गौतमले बताए ।

‘छेउन टुप्पोको कालोपत्रे छ र यहाँ वडाको कुनैपनि सडक बजारको हाईवे संग कालोपत्रे भएर जोडिन सकेको छैन । यो वडा बत्ति मुनिको अध्याँरो भने जस्तै छ,’ गौतमले भने ।

वडा नं. १० ले गरेको अर्कौ सकारात्मक कार्य भनेको उपमहानगरपालिकाले दिएको बजेटमा साना
स्कुले नानीहरुलाई निशुल्क खाजा कार्यक्रम लागु गर्नुपनि एक हो । वडा कार्यालय भवन पनि राम्रो छैन । त्यसमा वडा कार्यालय भन्ने शब्द समेत लेखिएको छैन । वरिपरी पर्खाल वा तारवार समेत छैन ।

ऐतिहासिक स्थल ११ नं. वडा, रकम अभाले भ्यू टावर अधुरै
प्राचिन समयमा दंगिशरण थारु राजाको दरवार यही वडाको सुकौरामा पर्छ । यो वडा ईतिहास अध्यता र पर्यटकहरुको लागि राम्रो संभावना बोकेको क्षेत्र हो ।

राज्यले विकाशमा ध्यान नदिदा दंगिशरण दरवारको महत्व उजागर हुन सकेको छैन । संविधान सभाका सदस्य बुद्धिराम भण्डारीले निर्माण गर्न थालेको भ्यू टावर बजेट अभावले अधकचल्टो छ ।

श्रीमणि आचार्यको स्मृतिमा निर्मित सडक सञ्जालले जोडिएका स्थानीय भने खुसी छन् । उपमहानगरपालिका र प्रदेश सरकारको लगानीमा उक्त सडक निर्माण गरिएको छ । वडा कार्यालयले आफ्नै बजेटले चिटिक्क परेको सभाहल निर्माण गरेको छ । त्यो अन्य वडाहरुको लागि पनि उदाहरणिय र अनुशरणिय छ ।

तर वडा अध्यक्ष चित्रवहादुर वली भने भए गरेको विकाशको गतिप्रति असन्तुष्ट सुनिए । ‘जस्ले भनसुन गर्न सक्छ त्यसैलाई मात्रै बजेट आउने भए संघीयताको के अर्थ,’ अध्यक्ष वलीले भने ‘पहुँचका आधारमा विकाश निर्माणका काम हुनु दुर्भाग्य हो ।’

बेलटाकुरास्थित स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गर्नु अर्कौ एउटा प्रशंसनिय कार्य मान्नु पर्ने वडा सदस्य सुवशा डिसीले तर्क गरे । अधिकार सम्पन्न स्थानीय सरकार भन्ने गरेतापनि अझैंपनि केन्द्रमा पहुँच भएका र भनसुन गरेपछि बजेट पारिदिने प्रबृति संघीयताको मर्म विपरित भएको उनले बताए । ‘स्थानीय सरकारले अवस्थ धेरै राम्रा प्रयासहरु गरेको छ । जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पर्ने गरि काम गरेको छ । तर समस्या कल्पना गरे अनुरुप काम गर्न भने सकिएको छैन,’ डिसीले भने । त्यसको कारण सोध्दा उनले पनि समानुपातिक रुपमा बजेट विनियोजन नगर्नुलाई मान्नु पर्ने उनले बताए ।

तुलसीपुर उपमहानगरका वडा नं. ९, १० र ११ को स्थलगत रिपोर्टिङ ।

प्रकाशित मिति : २०७६ कार्तिक ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *