दिप्तीशिखा चौधरी,
दंगीशरण, कात्तिक ४ । ७६ बर्षे रेखबहादुर वली सोमवार औधी खुसी थिए । दंगिशरण गाउँपालिका ३ र ६ नं. वडालाई जोड्ने पुल निर्माण भएपछि अव बर्षातको समयमा विगतमा जस्तो दुःख पाउनु पर्दैन भन्नेमा उनी ढुक्क थिए । पुल बन्नु भन्दा पहिले बर्षाभरी छिमेकी गाउँ जान नपाईने अवस्था थियो । ‘यताको यतै उताको उतै, केही काम परेपनि जान नपाइने अवस्था थियो । पुल बन्यो अव त्यो समस्या समाप्त भयो,’ वलीले खुसी साटे ।
उनले विगतमा नेपालगञ्ज हिड्दै जंगलै जंगल नुन, तेल ल्याउन जाँदादेखि नै त्यहाँ पुल नहुँदा भोग्नु परेको कठिनाई सम्झिए । पुल बन्नु भन्दा अगाडि सम्म स्थानीयले त्यो पीडा भोग्दै आएका थिए । बर्षातमा वारपार गर्नु ज्यान जोखिममा राखे रहर हुन्थ्यो । कोही दुःख विरामी हुँदापनि मोटर गाडी गाउँमा जान सक्ने अवस्था थिएन ।
६८ बर्षे चिरञ्जिवी वलीपनि सोमवार कम्ता खुसी थिएनन् । पुल बनेपछि गाडी घोडा र स्थानीयहरु समेत त्यही पुल भएर सहजै ओहोर दोहोर गरेको देख्दा उनले अब दुःखका दिन गए भन्ने ठान्छन् । दुई वटा वडालाई पुलले जोडेपछि स्थानीयलाई आवात जावात गर्न सहज भएको छ । ‘पुल बन्यो सम्बन्ध पनि जोडियो । अहिले छुट्टिएका दुई वडावासीलाई पुलले भावनात्मक रुपमा जोड्ने काम गरेको छ,’ वलीले थपे ‘ मैले यहाँ पुल बन्ला भन्ने कल्पना सम्म गरेको थिएन।’
६ हजार मानिस लाभान्वित
पूर्वाधार विकास कार्यालय दाङका ईन्जिनियर चन्द्रबहादुर शाहले ४ करोड ८० लाखको लागतमा पुल निर्माण भएको हो । दामोदर मार्ग अन्र्तगत पुल निर्माण भएसंगै दंगिशरण र बबई गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाका ६ हजार बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने शाहले बताए ।
२०७३ सालमा सम्झौता भएको पुल २ वर्षमा निर्माण कार्य निर्माण पुरा भएको हो । जग्गा विवाद, निर्माण सामग्रीको अभाव तथा पूर्वाधार विकाश कार्यालयबाट समयमै रकम भुक्तानी नहुनु जस्ता कारणले एक वर्ष ढिला गरि निर्माणको काम सकिएको इन्जिनियर शाहले बताए । तैपनि समयमै पुल निर्माण गरेको भन्दै निर्माण व्यवसायी पूर्णबहादुर भण्डारीलाई सम्मान गरिएको थियो । निर्माण व्यवसायी भण्डारीले व्यवसायमा ३४ वर्षमा दाङ जिल्लामा १२ वटा पूल निर्माण गरेको बताए ।
समृद्धिको यात्रा रोकिदैन ः मुख्य मन्त्री पोखरेल
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले अघि सारेको समृद्विको यात्रा नरोकिने बताएका छन् । दंगिशरण गाउँपालिका वडा नम्बर ३ र ६ जोड्ने पक्की पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पाखरेलले त्यस्तो बताएका हुन् ।प्रदेश नम्बर ५ ले कुल ग्राहस्थ उत्पादनको ७.७ प्रतिशत वृद्विदर हासिल गर्न सकेको भन्दै उनले त्यसैलाई समृद्विको यात्रातर्फ उन्मुख भएको दाबी गरे ।
संविधानसभा निर्माण पूर्व नेपालको कुल ग्राहस्थ उत्पादन ४ प्रतिशत रहेको र संघीयता कार्यान्वयन भएसंगै ७ प्रतिशत नजिक पुग्नु नेपाल समृद्विको बाटोमा पुगेको गतिलो उदाहरण भएको मुख्यमन्त्री पोखरेलले चर्चा गरे । सात वटै प्रदेशमध्ये पाँच नम्बर प्रदेशले जनताको सहयोग र साथले विकास निर्माणका कार्यमा सबैभन्दा बढी रकम खर्च गर्न सकेको पनि मुख्यमन्त्री पोखरेलले दाबी गरे ।
तर उनले जनतामा विपक्षीले निराशाको प्रचार फैलाएको दोषारोप गरे । पश्चिम दाङ विगतमा विकाशले पछाडि पारिएको क्षेत्रका रुपमा हेर्ने गरेतापनि वर्तमान अवस्थामा भने विकाश निर्माणका कार्यले गति लिएको उनले जिकिर गरे । तुलसीपुर–सुर्खेत सडकखण्ड कालोपत्र गर्ने कार्य २ वर्ष भित्र पुरा हुने र त्यसपछि कर्णाली प्रदेशको प्रवेशद्वारका रुपमा पश्चिम दाङको विकास हुने पोखरेलले उल्लेख गरे ।
उनले थारु राजा दंगिशरणलाई आजको पुस्तासम्म चिनाउनका लागि प्रदेश सरकारले शालिक निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए । दाङ जिल्लाको दक्षिण क्षेत्रलाई मध्यनजर गर्दै दामोदर मार्गमा सडक कालोपत्र गर्ने काम सुरु गरेको पोखरेलले बताए । गत वर्ष दामोदर मार्गका लागि पाँच करोड विनियोजन गरेको र यो वर्ष १० करोड बजेट बिनियोजन गरेको हुँदा त्यो बाटोको विकास हुने पोखरेलले आशा व्यक्त गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य,राष्ट्रियसभा सदस्य कोमल वली, दंगिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जनताको जीवनस्तर माथि उठाउने गरि सरकार लागिपरेको दाबी गरे ।कार्यक्रम प्रदेशका सामाजिक विकाश मन्त्री वैजनाथ चौधरीको अध्यक्षतामा भएको हो ।