दाङ,असोज ३० । समाचार संकलनका लागि गएका जिल्लाका पत्रकारहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय दाङको गेटवाट नै फर्काइदिएको छ । प्रहरीले विहीवार विहान पक्राउ परेका विप्लव सबै २१ ज्ना नेता कार्यकर्ताको बारेमा दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने अवगत गराएको थियो । सोही सूचनाको आधारमा दिउँसो जिल्ला प्रहरी कार्यालय घोराही पुगेका पत्रकारलाई गेटमा डिउटीमा बसेका प्रहरीले गेट भित्र प्रवेश गर्न समेत दिएनन् ।
डिउटीका प्रहरीले ‘ पत्रकारलाई समेत भित्र आउन नदिनु भन्ने आदेश छ’ भन्दै पत्रकारलाई गेट भित्र प्रवेश गर्न रोकेपछि पत्रकार फर्केका थिए । पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई प्रहरीले कार्यालयको पछाडिको गेटवाट भित्र प्रवेश गराएपछि पत्रकारले उनीहरुको फोटो र भिडियो समेत खिच्न पाएनन् ।
प्रहरीले सूचना संकलनमा रोक लगाएको भन्ने खवर सार्वजनिक भएपछि बेलुका पख भने पत्रकारलाई गेट भित्र प्रवेश गर्न दिइएको थियो । ‘भित्र गोल घर सम्म जान दिनु भन्ने मात्रै आदेश छ । त्यो भन्दा भित्र नजानु होला,’ डिउटीका प्रहरीले भनेका थिए ।
प्रदेश नं. ५ को प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङवाट प्रदेश प्रहरी प्रमुख डिआईजी सुरेन्द्र विक्रम शाह जिल्ला प्रहरी कार्यालय घोराही पुगेपछि पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी विदामा छन् भने दिउँसो जिल्ला प्रहरी प्रबक्ता सम्पर्कमै आउन चाहेनन् । जिल्ला प्रहरी कार्यालय दाङले विहीवार दिउँसो जारी गरेको सूचनामा विप्लवका २१ जना नेता कार्यकर्ता पक्राउ परेको सूचना मात्रै जारी गरिएको छ । पक्राउ परेका व्यक्तिका नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन । त्यसले गर्दा पत्रकारलाई समाचार संकलनमा समस्या भएको छ ।
डिआईजी शाहले पक्राउ परेकाहरुले ढाँटेको हुँदा नाम सार्वजनिक नगरिएको मात्रै प्रतिक्रिया दिए ।