दाङ,असोज २९ । सल्यान जिल्लामा बाल विवाह गराएको अभियोगमा बेहुला बुहलीसहित थप ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेहुला बेहुली, उनीहरुका आमा बुवा र विहे गराउने पण्डित समेत गरि ७ जना रहेका छन् ।
कपुरकोट गाउँपालिका वडा नंं. ५ जामुने निवासी १५ बर्षीय बेहुला, १४ बर्षीया बेहुलीसहित उनीहरुका अभिभावक र विहे गराइदिने पण्डितलाई समेत प्रहरी पक्राउ गरेर हिरासतमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बेहुलीले कपुरकोट गाउँपालिकाकै सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्यनरत थिइन भने बेहुला पनि सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत थिए ।
उनीहरु माया प्रेममा परेपछि आइतवार आपसी सल्लाहले घरवाट भागेका थिए । बेहुला बेहुलीका बाबु आमाले सल्लाह गरेर मंगलवार मात्रै उनीहरुको घरममै औपचारिक रुपमा हिन्दु परम्परा अनुसार पण्डित बोलाएर विहे गरिदिएका थिए ।
बेलुकी पख प्रहरीले त्यसको सूचना पायो । त्यही सूचनाको आधारमा प्रहरीले बेहुला बेहुलीसहित उनीहरुका अभिभावक र पण्डित समेतलाई मंगलवार बेलुकी घरवाटै पक्राउ गरि थुनामा राखेको छ । मंगलवार नै म्याद थप गरि प्रहरीले आवश्यक कारवाहीको लागि मुद्दा दर्ता गरिसकेको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ असोज २९ गते बुधवार