केही दिनअघि त्रिवि शिक्षण अस्पतालबाट आएको शाहीको घाउजाँच प्रतिवेदनमा कसैले हिर्काएर चोट लगाइदिएको उल्लेख छ । प्रहरी स्रोतका अनुसार शाहीको कोठामा महराबाहेक अन्य कोही व्यक्ति प्रवेश गरेको नभेटिएकाले सो कुटपिट उनैले गरेको ठानिएको छ ।
मिडियाहरूमा महरा र रोशनीको फरेन्सिक जाँच भएको भन्ने समाचार सत्य नभएको एक प्रहरी अधिकारीले बताए । उनले भने,–कुटपिटको घाउजाँच गरिने हो, फरेन्सिक जाँच हैन। घाउ कसले लगाइदिएको हो भन्ने परिस्थितिबाट पुष्टि भइसकेको छ ।
असोज १२ गते राति महराले बलात्कार प्रयासका क्रममा शाहीको शरीरमा चोटपटक देखिएको थियो । शाहीले जाहेरी दिएकै दिन असोज १७ गते प्रहरीले उनको शरीरमा लागेको घाउजाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो ।
महानगरीय प्रहरी वृत्त बानेश्वरको टोली असोज १२ गते कोठामा पुग्दा रोशनीले आफूमाथि कुटपिट भएको भन्दै चोट देखाएकी थिइन । तर, उनले केही दिन जाहेरी दिन इन्कार गरेपछि उनको शरीरमा लागेको चोटको जाँच समयमै हुन पाएन ।
‘जाहेरी परेको दिन जाहेरी सँगसँगै शिक्षण अस्पतालमा घाउ जाँच गर्न पठाइएको वृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए । उनले ‘घटना अनुसन्धान महानगरीय प्रहरी परिसरबाट भएकाले अस्पतालले उतै घाउजाँचको प्रतिवेदन बुझाएको पनि बताए । परिसर स्रोतका अनुसार रोशनीको हात, औंला, अनुहारलगायत शरीरका विभिन्न ठाउँमा चोट देखिएका छन्।
महराले कुटपिट गर्दा सो चोट लागेको शाहीले जाहेरीमा उल्लेख गरिएको छ । छ । कुटपिट गर्दा फुटेको महराको चस्मा, जुत्ताको तलुवा, रक्सी पिएको गिलास, रक्सीको बोत्तल फरेन्सिक जाँचमा पठाइसकिएको छ। त्यसको रिपोर्ट भने आइसकेको छैन । महरालाई जबरजस्ती करणी उद्योगमा मुद्दा अघि बढाइएको छ।
महरालाई जिल्ला अदालत काठमाडौंले थप तीन दिन थुनामा राख्न मंगलबार अनुमति दिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै हाल महरा नर्भिक अस्पतालमा उपचारत छन ।