काठमाण्डौ,असोज २९/ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र प्रदेश सभाको सदस्यको उपचुनावका लागि कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्बन्धमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीसँग परामर्श गरी तीन जनाको नाम सिफारिस गरी कात्तिक १० गते भित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको हो ।
निर्वाचन क्षेत्रीय कमिटी नबनेको स्थानमा जिल्ला कमिटीले सिफारिस गर्ने तथा प्रदेशसभाको सदस्यको हकमा पनि त्यही कुरा लागू गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्थानीय नगरपालिका वा गाउँपालिकाहरुको मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्षको उम्मेदवारका लागि भने सम्बन्धित गाउँ वा नगर कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने पनि उनले जानकारी दिए ।
वडाको हकमा सम्बन्धित वडा कमिटी वा गाउँ नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको चयन गर्न सक्ने गरि बैठकले निर्णय गरेको छ । उपचुनाव मंसिर ६ गते हुँदैछ ।
त्यसैगरी बैठकले संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी चयन गरेको छ । यसअघि नै संगठन विभाग प्रमुखमा बामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा सचिवालयले चयन गरिसकेको छ ।
पछिल्ला सदस्यसहित संगठन विभाग ५ सदस्यीय भएको छ । यद्यपि संगठन विभागले पूर्णता भने अझै पाएको छैन ।
– उज्यालो