
यमकला भुसाल,
तुलसीपुर, असोज १२ । स्थानीय स्तरबाटै उन्नत बिऊ बिजन उत्पादनमा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन । रुकुमेली एग्रोसिड सेन्टर तुलसीपुरले आइतवार तुलसीपुर ६ राजापुरमा आयोजना गरेको बिऊ प्रशोधन गृह समुद्घाटन तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने सहभागीले यस्तो बताएका हुन । उनीहरुले स्थानीय स्तरको उत्पादनलाई गुणस्तरीय रुपमा लैजानुपर्ने समेत बताए ।
रुकुमेली एग्रोसिड सेन्टर तुलसीपुरका अध्यक्ष निर्मल कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सचिव माधव केसीले विभिन्न ठाँउमा छरिएर रहेका एग्रोभेट व्यवसायीहरुलाई समेटी २०६९ सालदेखि रुकुमेली एग्रोसिड सेन्टर सञ्चालन गर्दे आएको बताए । उनले गुणस्तरिय बिऊ,उत्पादन प्रशोधन,प्याकेजिङ तथा बजारीकरण गर्दे गुणस्तरिय बिऊ श्रोतकेन्द्रको रुपमा बिकास गर्दे अघि बढेको बताए । साथै उनले हालसम्म सेन्टरले रुकुम,सल्यान,रोल्पा,दाङ जिल्लामा रहेका कृषक समुह,सहकारीहरुले उत्पादन गरेका खाद्यान्न तथा तरकारीहरुको बिऊ खरिद गरि दाङ ल्याउने र प्रशोधन केन्द्रबाट बजारीकरण गर्दे आएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार कृषि विकास मन्त्रालय किसानका लागी उन्नत बिऊ विजन कार्यक्रमका मेनेजर कौशल कुमार पौडेलले भने,–बिऊ जैविक चिज हो,यसलाई संरक्षण गरेर उत्पादनमा ल्याउनुपर्छ र बिऊलाई औपचारिक बनाउनुपर्छ । प्रशोधन केन्द्रबाट किसानहरुलाई गुणस्तरीय बिऊ दिन सके स्थानीय स्तरबाटै उत्पादनलाई बढाउन सकिने बताए ।
त्यस्तै किसानका लागी उन्नत बिऊ बिजन कार्यक्रमका बिज्ञ लिलाराम पौडेलले आफुहरुले किसानहरुबाट उत्पादन भएको उन्नत बिऊलाई बजारीकरण गर्न सहयोग गर्दे आएको बताए । उनले भने,–उन्नत बिऊ उत्पादनको माध्यमबाट कृषकहरुलाई जिवनयापनमा समेत सहयोग पुग्छ,अब प्रत्येक कृषकहरुको घर– घरमा राम्रो बिऊ उप्पादन गर्नुपर्छ र स्वदेशी लगानी स्वदेशमै सरक्षण गर्नुपर्छ ।
कार्यक्रममा कृषि केन्द्र दाङ र प्युठानका प्रमुख कृष्णबहादुर बस्नेतले भने,–बिऊ कृषि उत्पादनको आधारभुत आवश्यकता हो,उत्पादन गरेको बिऊलाई बजार मुल्य बुझेर मात्र बजारीकरण गर्नुपर्छ । उनले किसानको लगानीको सुरक्षा चुनौतीपुर्ण रहेको भन्दै यस विषयमा राज्यले गम्भिर भएर सोच्नुपर्ने समेत बताए ।
कार्यक्रममा प्रजातान्त्रिक उद्योग वाणिज्य सघं तुलसीपुरका अध्यक्ष जनकप्रसाद खराल,नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक अध्यक्ष भिमप्रकाश भण्डारी,नेकपा जिल्ला कमिटी सदस्य बिनोदकुमार शर्मा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
सदस्य रोशनकुमार आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष बलिराम खत्रीले गरेका थिए । साथै सो अवसरमा विभिन्न जिल्लाका उत्कृष्ट किसानहरुलाइृ सम्मान समेत गरिएको थियो ।