२०८१ असोज २९ गते मङ्गलवार

कावासोतीमा ट्रकले कारलाई ठक्कर दिदा ५ जनाको मृत्यु

नवलपरासी , असोज ७ । पूर्वपश्चिम राजगार्गअन्तर्गत कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु १ ख ८५३२ नम्वरको ट्रकले बा २१ च ६४०९ नम्वरको कारलाई ठक्कर दिदा कारमा सवार पाँचै जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पाँचै जनालाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको थियो । तर उनीहरु सबैको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । मृत्यु हुने पाँचै जनाको नाम ठेगाना अझै खुल्न सकेको छैन ।जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका अनुसार सोमवार राति सवा दश बजेतिर उक्त दुर्घटना भएको थियो ।

यस्तै रातिको समयमा अन्य दुई स्थानमा दुर्घटनामा कम्तीमा २० जना घाइते भएका छन्।

नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा रातको सवा एक बजेतिर दाङबाट काठमाडौंका लागि छुटेको बस अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १५ घाइते भएका छन् । ना ७ ख ८६४२ नंको बस आफैँ अनियन्त्रित भएर पल्टिएको प्रहरीले बताएको छ ।

दुर्घटनामा बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चारको नवलपुर अस्पताल, एकको कालीगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

घाइते हुनेमा सल्यान कालीमाटी–४ बस्ने २७ वर्षीय रामबहादुर भोली, सलेस्वरी–१ का २३ वर्षीय रोहित चन्द, सुनसरी इनरुवा–१० का २५ वर्षीय रिजवार आलम, रोल्पा (पश्चिम) गङ्गादेव– ६ का ५६ वर्षीय नवलसिंह ओली, नवलपरासीपूर्व विनयत्रिवेणी– १ का ४१ वर्षीय नरबहादुर श्रेष्ठ, रुकुमपूर्व भुमे–८ का ३४ वर्षीय प्रेमबहादुर बुद्ध, दाङ तुलसीपुर–१४ का बसका सहचालक १९ वर्षीय सुजन बुढाथोकी, गुल्मी दरबडी–५ का ४५ वर्षीय जगदीश अर्याल, दाङ तुलसीपुर–१ का ३३ वर्षीय प्रेम भुषाल, सल्यान कपुरकोट–४ का २७ वर्षीय दीपक पुन, सल्यान कालिमाटी–४ का २० वर्षीय प्रकाश केसी, कालिमाटी–४ का ३५ वर्षीय लेखराज केसी, सल्यान कपुरकोट–३ का ४२ वर्षीय दलबहादुर ओली, दाङ तुलसीपुर–५ का ४० वर्षीया दुर्गा परियार र सोही स्थान बस्ने २४ वर्षीया कल्पना परियार रहेको प्रहरीले जनाएको छ ।

बसमा कति सवार रहेका थिए भन्ने अझै यकिन हुनसकेको छैन ।

यस्तै मंगलवार बिहान पौने ५ बजेतिर मध्यविन्दु नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गको ४० किलोमा बस अनियन्त्रित भई पल्टिँदा पाँच घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडाँैका लागि छुटेको ना४ख ९५१० नंको बस आफै अनियन्त्रित भएर पल्टिँदा पाँच घाइते भएका हुन् ।

घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक रहेको छ ।

प्रकाशित मिति : २०७६ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *