
दाङ, भदौ २१ । तुलसीपुरमा माछा मार्ने क्रममा दुई जना युवाको डुवेर मृत्यु भएको छ । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं। ५ निवासी २० बर्षीय अर्जुन बुढा र ओखलढुङ्गा जिल्लाका २६ बर्षीय मिलन लामाको माछा मार्ने क्रममा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहर नाथ योगीका अनुसार सल्यान निवासी बुढा पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका वडा नं। ८ कट्कुँईयामा बंगुरपालन गरेर बस्दै आएका थिए भने ओखलढुङ्गाका लामा सल्यानको कपुरस्थित ससुराली आएका व्यक्ति हुन ।
उनीहरु दुबै जनाको शुक्रवार राति तुलसीपुर उपमहानगरपालिका वडा नं। ८ गहते खोलाको नव निर्मित पुल नजिकै जाल हानेर माछा मार्ने क्रममा डुवेर मृत्यु भएको डिएसपी योगीले जानकारी दिए ।
गहते खोलामा नयाँ निर्माण गरेको पुल नजिकै पानीले गहिरो खाडल बनाएको र त्यसैमा जालहान्न गएका दुबैको डुवेर मृत्यु भएको डिएसपी गिरीले बताए । घटनास्थलमा माछा मार्न प्रयोग गरिएको जालपनि फेला परेको छ । प्रहरीले शनिवार विहान मात्रै दुबै जनाको शव पानी बाट निकालेको हो । दुबै जनाको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्ट मार्टम पछि आफन्तको जिम्मा लगाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।
घोराहीमा पनि थप अर्की एक शिशुको डुवेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ७ राजपुर निवासी जीवन चौधरीको १ बर्षीया छोरी प्रतिष्ठा चौधरीको शनिवार घर नजिकैको कुलोमा डुवेर मृत्यु भएको छ । विहान साढे १० बजेतिर प्रतिष्ठालाई कुलोले बगाएको थियो । उद्धार गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको चिकित्सकले त्यही उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।