२०८० असोज १५ गते सोमवार

कहिले पाउँछन् युवाले देशमै खोजेको जस्तो रोजगार ?

स्थानीय सरकार गाउँमा आएपछि केन्द्र सरकार सम्हाल्ने नेताहरुले एकताका निकै धेरै भाषण गरे । गाउँमै सिंहदरबार आयो भनेर । वास्तवमा संघीयताको मर्म ‘गाउँ-गाउँमा सिंहदरबार, दैला-दैलामा सरकारी सेवा हो’ । तर यतीबेला सिंहदरबार जनताको लागि आएको भन्न त लाज मानुपर्ने अवस्था छ ।

गाउँ(गाउँमा सिंहदरबार भनेको के हो ? देश संघीयतामा गएपछि हामीलाई के फाईदा भयो ? ‘गाउँ-गाउँमा सिंहदरबार, दैला-दैलामा सरकारी सेवा भन्नुको अर्थ पहिले काठमाडौंमा मात्रै एकीकृत भई सिंहदरबाट दिइएको सेवा अहिले गाउँ-गाउँमा विभाजन गरियो भन्ने हो । तर गाउँगाउँमा सिंहहरु आए तर दरबार आएन् ।

संघीयताको मर्म अनुसारको सिंहदरबार अझै हामीले महसुस गर्न पाएका छैनौ । आज पनि जनताको घरमा सिंहदरबार पुगेको छैन । सोझा, सिधा गरिब, दुखी जनताका घर घरमा सिहंदरबार कहिले पुग्ने रु अहिलेका जनप्रतिनिधिका कार्यशैली र अवस्थालाई हेर्दा गाउँ गाउँमा सिहंदरबार भन्न मिल्दैन ।

दुर्गम ग्रामिण बस्तिका जनता आज पनि जिविको निर्वाह गर्नका लागि खाद्यान्न जुटाउन घन्टौं पैदल हिड्नु पर्ने अवस्था छ । कतिपय खाद्यान्नको अभावमा आधा पेट मात्रै खान पाउन अवस्था छ । जनताका छोराछोरीले स्तरिय शिक्षा सहज रुपमा पढ्न पाउने अवस्था छैन । जलस्रोतको दोस्रो धनी देश भनिएको नेपालमा प्रशस्तै विद्युत उत्पादन क्षमताको सम्भावना हुँदाहुदै अझैसम्म पनि धेरै बस्तिका मान्छेहरु टुकी, सोलार ,बत्तिको भरमा बस्नु परेको छ ।


संचारको सहज पुहँच छैन । ग्रामीण क्षेत्रमा अझै पनि फोन गर्न घन्टौ हिडेर अग्ला अग्ला डाँडा काँडा, रुख भिर ध्याउनु पर्ने अवस्था छ। त्यसमा पनि घाम लाग्यो भने मात्र फोन लाग्छ। कोही कसैलाई आपत बिपत परेमा वा जटिल बिरामी लागेमा अस्पताल खोज्दै ठूला-ठूला शहर बजार तिर ध्याउनु पर्ने बाध्यता छ। उपचार नपाएर कतिपयले अकाल्मै ज्यान गुमाउने पर्ने अवस्था छ । पहाडका सबै गाउँमा सडक पुगेका छैन । खानेपानी जोहो गर्न घन्टौं हिंड्नुपर्ने बाध्यता छ।

आधारभूत विकास पनि नपुगेका गाउँ बस्तीहरुमा हामीले सिंहदरबारको अधिकार पुगेको भन्न मिल्छ त रु नेताहरुले सिंहदरबार पुग्यो भनेर ठूला ठूला भाषण गरेर हुन्छ त ? आधाभूत कुराको समेत परिपूर्ती नभएको गाउँमा सिंहदरबार पुग्यो भन्नु लाजमर्दो होइन र ?

यस्तो लाग्छ, तीन तहको सरकार जनतालाई सुबिधा होइन दुबिधा भइरहेको छ । स्थानीय तहमा भ्रष्टाचार मौलाएको छ। जनप्रतिनिधिको कार्यकाल विवादै बिवादमा वित्दै छ। अपेक्षा अनुसार स्थानीय स्तरमा विकासका कामहरु हुनै सकेका छैनन् । अधिकांश स्थानीय तहहरुमा कर्मचारी र जनप्रतिनिधिको विवाद छ । जसले जनताको काम प्रभावित बनेको छ ।

हिजो गाउँमै सिंहदरवार आयो अब जनताहरु सबैलाई सुविधा हुन्छ भनि चुनावमा नारा घन्काउनेहरु आज महाराज नै बनेका छन जस्तो लाग्न थालेको छ । गाउँ गाउँका सिंहदरवार यी नै महाराजाहरुको सेवाको लागि मात्रै हो जस्तो भान हुन थालेको छ ।

लाखौं लाख युवाहरु विदेशी भूमिमा आफ्नो पसिनामा बगाउँदै छन् । दिन प्रतिदिन हजारौं हजार युवाहरुले देश छोड्दै छन्। नेपालमा रोजगारी सिर्जना हुने सम्भावना छैन । युवा पंक्तिलाई देशको नेतृत्व प्रति कुनै आश छैन। देश छोड्नुपर्ने बाध्यता छ। उच्च शिक्षा हासिल गरेका विद्यार्थीको बिजोग छ। उच्च शिक्षा हासिल गरेका विद्यार्थीले नेपालमा आफुले चाहेको जस्तो रोजगारी पाएका छैनन् । विदेश पलायनको डरलाग्दो तथ्याङ्क छ।

हाल १९ महिनामै रोजगारीमा जाने नेपालीहरुको संख्या १३ लाख भन्दा बढी पुगेको छ। स्वदेशमा अवसरको उपस्थितिको कमी भएकै कारण यस्तो स्थिति सिर्जना भएको हो। विदेश पलायन हुने नेपाली युवाको संख्या अझै दिनप्रतिदिन बढ्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन विदेश जानेहरूको लर्को हुन्छ । अध्ययन, रोजगारी होस् वा भिजिट भिसाको नाममा उतै हराउनेहरु त्यसमा सामेल हुन्छन् । जसरी भएपनि विदेश जानु पर्छ भन्ने गलत मनोविज्ञानले जरो गाडेको अवस्था छ ।

सामान्ने जनताले समेत अहिलेका जनप्रनिधिको विश्वास गर्न सक्ने अवस्था छैन । संघ ,प्रदेश र स्थानीय तह सबैमा भ्रष्टाचार रै भ्रष्टाचारको गन्ध ब्याप्त छ। यी जनप्रनिधिले गरेका गतिविधिबाट जनताहरु सन्तुष्ट छैनन् जस्तो मलाई लाग्छ ।

देशको संरचना परिवर्तन भएको पनि धेरै भयो । जे फाईदा भयो अहिलेका जनप्रतिनिधि र उनीहरुका नजिकका नातागोतालाई मात्रै भयो। एक पटक जसरी हुन्छ नेतृत्वमा पुग्ने जति सक्यो उति लुट्ने गलत संस्कृतिको विकास भएको छ। अर्को पटक जनताले पक्कै हराउनेछन् भन्ने कुरा उनीहरुलाई थाँहा छ। जनताको लागि काम गर्ने भन्दापनि कसरी नेतृत्वमा पुग्ने अनि कमाउने भन्ने तिर सबैको चासो देखिन्छ ।

एक पटक नेतृत्व गर्ने कमाउने अनि रमाउने । आफ्नालाई बनाउने, कसैलाई रोजगार दिने , कसैलाई ठेक्का पट्टा दिने । के कसरी हुन्छ सबै आफ्नोलाई दिने, भएको बजेट जतिसक्यो उति हिनामिना गर्ने र आएको बजेट जसरी हुन्छ सबै सक्ने। अनि कहाँबाट हुन्छ त जनताहरुलाई सुविधा दिने र जनताको लागि केही काम गर्ने र विकास गर्ने ?

केही रोजगार खुलेपनि आफ्नै छोरा छोरीलाई जागिर खुवाउने । यो देशलाई आफ्नै निजी कम्पनी जस्तो बनाउने । त्यही पनि जनताको लागि सिहंदबार गाउँ गाउँमा ल्यायौं भन्नु लाज मान्दैनन् उनीहरु । न देशमा क्षमतावान युवापंक्ति बस्ने वातावरण मिल्यो । न पढेकालाई रोजगार मिल्यो, न योग्यता क्षमताको कदर भयो । न गरिबले नजिकमा भने अनुसार उपचार पाउँछ, न स्तरिय शिक्षा न क्षमता अनुसारको रोजगार पाउँछ ।

नेपालमा बस्ने वातावरण केही छ रु त्यहि भएर धेरैलाई यो देशमा बस्नै मन छैन । यो देशमा बस्नलाई त कुनै पनि पार्टीको पुच्छर हुनुपर्छ । देशमा बस्नलाई त पावर पहुँच हुनुपर्छ। बिचारा गरिब दुखिको कोही छ ? आफ्नालाई रोजगारमा राखिन्छ गरिव दुखिका छोराछोरीलाई साइड लगाइन्छ । हुनेखाने ठूलाठाली र आफ्ना कार्यकर्ताका छोराछोरीलाई छनोट गरिन्छ। बिचारा गरिबको छोराछोरीको मेहनतलाई नेपालमा कसले बुझ्छ ।

कहिले आउछन् अब जनताका छोराछोरीका दिन ? कहिले आउछन् अब हाम्रा नेताका सकारात्मक सोच ? कहिले हुन्छ अब देशमा सबैलाई सम्मानपूणर् ब्यवहार ? कहिले हुन्छ सबैलाई निष्पक्ष न्याय ? कहिले आउने हो न्यायोचित र समानुपातिक बिकासको लहर ? नेताको आश गर्दागर्दै सबैको भैसक्यो बेहाल। अब कहिले हून्छ जनताले सोचेको जस्तै गरि विकास । कहिले पाउँछन् युवाले देशमै खोजेको जस्तो रोजगार ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *