दाङ, कात्तिक १७ । करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ९एन्फा०को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने कार्यक्रम रहेको छ ।
जसअन्तर्गत बाँकेको नेपालगन्ज रंगशालामा २५ भन्दा बढी विद्यालयहरुको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको उदघाटन गरिएको हो ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ, नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट र बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले संयुक्त रुपमा राष्ट्रिय खेलकुद परिषदका फुटबल प्रशिक्षक रबिन्द्र श्रेष्ठलाई फुटबल हस्तान्त्रण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन । त्यस समारोहमा सहभागि विद्यालयहरुको तर्फबाट प्रतिनिधिका रुपमा जुनियर आइनस्टाइन स्कुललाई फुटबल हस्तान्त्रण गरिएको थियो ।
नेपालगन्ज रंगशालामा भएको कार्यक्रममा बाँके जिल्लाका निजी तथा सामुदायिक विद्यालय बाट विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटनको दिन नेपालगन्ज रंगशालामा ८ देखि १२ वर्ष उमेर समुहका खेलाडीले प्रशिक्षणसँगै मैत्रीपुर्ण अभ्यास खेल खेले ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै एन्फा अध्यक्ष नेम्वाङले फुटबलको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्न फिफा फुटबल फर स्कुल कार्यक्रम महत्वपुर्ण रहेको बताए ।
‘हामी निकै खुसी छौं । फिफाको अवधारणा अनुसार यो कार्यक्रम एक हजार भन्दा धेरै विद्यालयमा पुगि सकेको छ ,’ उनले भने ‘नेपालगन्जमा आयोजना गरिएको यो कार्यक्रमले समाजलाई एकताको सुत्रमा बाध्न फुटबलले सहयोग गर्छ भन्ने देखाएको छ । फुटबलले बालबालिकाको मतिष्कमा सकारात्मक प्रभाव पार्छ । यस्तो कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन यहाँका स्थानीय तह, एन्फा बाँके, फुटबल क्लब र स्थानीयबासीलाई म अनुरोध गर्दर्छु ।’
नगर प्रमुख विष्टले बाँकेमा फुटबल संघले गरिरहेको गतिविधि बाट आफु निकै प्रभावित भएको बताउँदै आगामी दिनमा फुटबलको विकासमा उपमहानगरपालिकाले सहकार्य गरेर अगाडि बढन तयार रहेको बताए ।
‘खेलकुदका कार्यक्रममा फुटबल अगाडि छ । हामीलाई खुसी लाग्छ बालबालिकालाई फुटबलको माध्यमबाट भएपनि शारीरिक र मानसिक रुपमा बलियो बनाउने प्रयास भैरहेको छ,’ उनले भने ‘यो अहिले हाम्रो समाजलाई निकै आवश्यक कार्यक्रम हो । यसमा हामी सहकार्य गर्नेछांै ।’
ग्रासरुट फुटबललाई नियमित गराउन बजेट बिनियोजन गर्ने विष्टले बताए । फिफा फुटबल फर स्कुल कार्यक्रमले बाँकेमा फुटबल संस्कृतिको विकास गर्न सहयोग गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवमं एन्फा केन्द्रीय सदस्य शाहीले बताए ।
नेपालगन्ज रंगशालामा ८ देखि १२ वर्ष उमेर समुह बालबालिकालाई बाँके जिल्ला फुटबल संघले चार महिना अघि देखि हप्ताको दुई दिन निःशुल्क रुपमा प्रशिक्षण दिदै आएको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले बताए ।
नेपालगन्ज रंगशालामा तीन सय बालबालिकाले बिहीबार र शुक्रबार प्रशिक्षण गरिरहेका छन ।
जिल्लाका अन्य स्थानीय तहमा यो कार्यक्रम विस्तार गरेर बालबालिकालाई फुटबल प्रशिक्षण गराउने योजना रहेको खत्रीले बताए ।
