२०८० चैत्र ३० गते शुक्रवार

विश्व क्रिकेट लिग टुमा नेपालले आज नामिबियासँग खेल्दै

काठमाडौं,फागुन २ । नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित ‘आईसीसी विश्व क्रिकेट लिग टु’ त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौंमा सुरू हुँदैछ। पहिलो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरू हुनेछ।

रोहित पौडेलको कप्तानीमा मैदान उत्रने नेपाल लिग टुमा नामिबियालाई पहिलो पटक पराजित गर्ने लक्ष्यमा हुनेछ ।

यसअघि भएका चार खेलमा तीनमा नेपालले हार व्यहोरेको थियो। एक खेल वर्षाका कारण रद्द भएको थियो।

गत जुलाइमा स्कटल्यान्डमा भएको सिरिजमा नेपाल नामिबियासँग पहिलो खेलमा ४० र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।

डिसेम्बरमा फेरि नामिबिया र नेपाल आमनेसामने भएका थिए । पहिलो खेल वर्षाले हुन सकेन । दोस्रो खेलमा नेपालले ८६ रनको फराकिलो हार व्यहोर्‍यो ।

नेपालले लिग टुका कुल ३६ मध्ये २४ खेल खेलिसकेको छ। जसमा १४ जित, १८ मा हार र एकमा बराबरीको नतिजाका साथ १८ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ।

ओडीआई सिधै जोगाउन नेपाललाई बाँकी १२ मध्ये कम्तीमा ९ खेलमा जित हात पार्नुपर्नेछ। त्यसैले घरेलु मैदानका चार खेलले नेपालको आगामी भविष्य तय गर्नेछ।

नेपालसामू घरेलु मैदान र समर्थकको फाइदा रहनेछ । यही खेलमार्फत मोन्टी देसाइले नेपालको प्रशिक्षकका रुपमा डेब्यु गर्दैछन्।

प्रशिक्षक देशाईले छोटो समयको क्याम्प निकै फलदायी भएको र १० दिनको अवधिमा आफूले खेलाडीमा भएको क्षमतालाई निखार्न प्रयास गरेको बताए।

सिरिज नेपालका लागि निकै महत्वपूर्ण र कठिन दुवै भएको बताउँदै सुखद् नतिजाका लागि खेल्ने प्रशिक्षकको भनाइ छ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता सुरू हुनुपूर्व सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा घरेलु टिम नेपालका कप्तान रोहितले नयाँ प्रशिक्षकको आगमनले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद् नतिजा निकाल्न नेपाली टोली तयार भएको बताए।

एक साताअघि मात्र औपचारिक रुपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईले नेपालका उमेर समूहका टोलीसँग काम गरिसकेकोले अहिलेको टोलीमा सहजै घुलमिल भएको कप्तान रोहितले बताए।

घरेलु मैदानमा हुने सिरिज निकै महत्वपूर्ण रहेको भन्दै रोहितले घरेलु मैदानको भरपुर सदुपयोग गर्ने बताए।

यता ३० खेलबाट ३७ अंक बटुलेको नामिबिया तेस्रो स्थानमा छ।

नामिबियाका प्रशिक्षक मोर्ने मोर्कलले आफ्नो टोलीको लिगमा ६ खेल बाँकी रहेको र बाँकी सबै खेल निकै महत्वपूर्ण रहेको बताए।

उनले आफ्नो टोली शीर्ष चारमा अटाइसेको र दोस्रो स्थानमा अटाउने लक्ष्यमा नामिबिया रहेको रहेको भन्दै नेपालको भ्रमण राम्रो बनाउने बताए।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फागुन ९ गते सम्म हुनेछ। सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फागुन २ मा खेल्नछ।

यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ। नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा पुनः खेल्नेछ।

 

 

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *