
दाङ, कात्तिक १२ । काठमाडौंमा जारी ‘उपमेयर कप’ राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगितामा दाङ तुलसीपुर उपमहानगरपालिकाको महिला टिमले बिजयी सुरुवात गरेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा एन्फा कम्पिलेक्स सातदोबाटोमा जारी प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा हेटौडा उपमहानगरपालिकालाई ० का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै तुलसीपुरले बिजयी यात्रा सुरु गरेको हो ।
खेलको दोस्रो हाफमा जर्सी नं. १० की ममता पुनले गोल गर्दै टिमको लागि खाता खोलेकी थिइन ।
त्यस्तै जर्सी नं. ४ का मन्दिरा राईले थप एक गोल गर्दै आफ्नो टिमका लागि गोल संख्या २ पुगाएकी थिइन । खेलमा ममता पुन ‘म्यान अफ द म्याच’ घोषित भइन । तुलसीपुरले आइतबार आफ्नो दोस्रो खेल गैंडाकोट नगरपालिका संग खेल्ने भएको छ । खेल बिहान नौ बजे देखि सुरु हुने भएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार