जुम्ला,माघ १७ । तातोपानी गाउँपालिकामा रहेको तातोपानी धारामा नुहाउने पर्यटक बढेका छन् । चिसो मौसममा तातोपानीमा नुहाउने आन्तरिक पर्यटक बढेका हुन् ।
तातोपानी गाउँपालिका वडा नम्बर २ मा रहेको जर्मी गाउँमा अहिले दैनि एक सय जनाभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । शनिवार अझ धेरै पर्यटक आउने गरेका तातोपानी धाराका कर्मचारी धनबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार प्रति महिना अहिलेको सिजनमा १ लाख १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । तर गर्मी सिजनमा भने पर्यटकको सङ्ख्या घट्ने गरेको उनले बताए । तातोपानी धाराबाटै वार्षिक करिब १२ देखि १४ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।
अहिले विदेशी नागरिकलाई प्रवेश शुल्क एक सय तथा अन्यलाई ३० रुपैयाँ टिकट दर कार्यान्वयन भइरहेको कर्मचारी रावतले बताए ।
धाराको सञ्चालन तथा व्यवस्थापन वियमा तातोपानी गाउँपालिकाले कार्यविधि समेत बनाएको छ । तातोपानी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष चन्द्रमान बुढाले कार्यविधि भर्खर पास भएको र कार्यविधि अनुसार नयाँ शुल्क निर्धारण गर्ने तयारी भइरहेको जानकारी दिए ।
अहिले धाराको व्यवस्थापनको जिम्मेवारी वडा कार्यालयले लिएको र ३ जना कर्मचारी रेखदेखका लागि राखिएको छ । तातोपानीमा नुहाउन पाउँदा भने पर्यटक खुशी देखिन्छन् । जुम्लामा हिउँदे सिजनमा चिसो पानीमा नुहाउन कठिन हुने भएकाले तातोपानीमा नुहाउनेको भिड पनि लाग्छ ।अझ शनिवारको दिन कार्यालयका कर्मचारी तथा आन्तरिक पर्यटकहरु नुहाउन आउने गरेका छन् ।
तातोपानीमा नुहाउन आएका जुम्ला हिमा गाउँपालिकाका देविकृष्ण अधिकारीले तातोपानीले नुहाउने मात्रै नभइ औषधि समेत हुने विश्वास रहेको बताए ।
पछिल्लो समय तातोपानीमा सरसफाइ पनि निरन्तर गर्ने गरिन्छ । गाउँपालिकाले तातोपानीको सरसफाइमा बढी जोड दिएको अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए ।
उनले जिल्लाकै पर्यटकीय केन्द्र तातोपानी भएको हुँदा यसलाई विशेष ध्यान दिने बताए ।
तातोपानीको धारा व्यवस्थापनका लागि पर्याप्त बजेट अभावका कारण समयअनुकूल संरचना बनाउन नसकिएको उनले बताए । यसका लागि स्थानीय सरकारले पहल गरिरहेको छ । अहिले महिलाहरु नुहाउने धारा सुरक्षित गरिएको वडा कार्यालयले जनाएको छ ।
तातोपानीमा जुम्लासहित नजिकको जिल्ला कालीकोट, मुगु, जाजरकोट, डोल्पाबाट पनि मानिसहरु नुहाउन आउने गरेका छन् ।
