काठमाण्डौ,असोज २४ । दशैँको बिदामा बढेको सुनको भाउ आज भने घटेको छ ।
दशैँको बिदा सुरु भएसँगै सुनको भाउ बढ्न थालेको थियो । तर बिदाका कारण नेपाल सुन चाँदी व्यवसायी महासङ्घले हिजो मात्रै सुनको भाउ तोकेको थियो ।
हिजो तोलामा ३ हजार रुपैयाँले बढेर सुनको भाउ ९६ हजार रुपैयाँमा पुगेको थियो । तर, आज भने तोलामा ८ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलामा ९५ हजार २ सय रुपैयाँ तोकिएको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता बढेको छ । यसले गर्दा भाउमा उतारचढाव आउने बताए ।
दशैँको बिदाअघि नेपालमा सुनको भाउ तोलामा ९३ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।
हिजो तोलामा १ हजार २ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ आज २५ रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ ।
प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार

