दाङ । जिल्ला अनुगमन समन्वय समितिले विकास निर्माण कामको प्रभावकारी रुपमा अनुगमन गर्ने भएको छ । अनुगमन समन्वय समितिको बैठकले ईआए र आईई भएका खोला÷ नदीमा ठेक्का नलागेसम्म स्थानीय तहले कार्यपालिका बाट निर्णय गराएर नियम अनुसारको राजश्व लिएर विकास निर्माणको कामको लागि आवश्यक पर्ने नदीजन्य पदार्थ ओसार पसार गर्ने निर्णय गरेको छ ।
बैठकले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म ओसार पसार गर्ने सक्ने समय सम्म तोकेको छ । चालु आर्थिक वर्षको लागि विकासे काम शुरु गर्ने समय भएपनि कच्चा पदार्थको अभावमा काम हुन सकेको छैन । स्थानीय तहले समयमै बजेट ल्याएपनि विकासे काम हुन सकेका छैनन् । नदी जन्य पदार्थ उत्खननको लागि इआए र आइए गर्नु पर्ने कानुनी व्यवस्था छ । तर समयमै स्थानीयतहले आवश्यक ठाउँको पहिचान गरेर आइए र एआइ नगरेको कारण विकास निर्माणको काम अपेक्षा अनुरुप अघि बढन सकेको छैन ।
जिल्लामा विकास निर्माणको काम सुस्त भएको भन्दै नागरिकबाट आलोचना हुदै आएको छ । बुधवार बैठक जिल्ला अनुगमन समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको थियो । बैठकमा स्थानीयतहका प्रमुख तथा प्रतिनिधि र जिल्ला शुरक्षा निकायको सहभागिता थियो ।