२०८२ जेष्ठ ११ गते शुक्रवार

केबुलकार निर्माणको गृहकार्य शुरु

फाइल फोटो

मकवानपुर जिल्लाको पर्यटकीयस्थलको विकास र प्रवद्र्धन गर्न उद्देश्यले केबुलकार निर्माण गर्न गृहकार्य शुरु भएको छ ।

मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्ज्याङ र भीमफेदी गाउँपालिकाको भैसे जोड्ने गरी केबुलकार निर्माण गर्न प्रारम्भिक अध्ययन शुरु गरिएको थाहा नगरपालिकाले जनाएको छ ।

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको नेतृत्वमा विज्ञसहितको एक टोलीले उक्त नगरपालिकाको वडा नं ४ स्थित सिमभञ्ज्याङको स्थलगत निरीक्षण एवम् अवलोकन गरिएको थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले आज राससलाई बताउनुभयो ।

जिल्लाको पर्यटकीयस्थलमध्ये महत्वपूर्ण पर्यटकीयस्थल रहेको सिमभञ्ज्याङवाट ड्रोनको प्रयोग गरी दूरीको नापनक्सा र प्रारम्भिक अध्ययन भएको बताइएको छ । सिमभञ्ज्याङवाट भीमफेदी गाउँपालिकाको भैसेतर्फ ६ किलोमिटर र थाहा नगरपालिकाको दामनतर्फ करीब ७२२ मिटरको दूरी रहेको प्रारम्भिक अध्ययनका क्रममा पाइएको उपप्रमुख गोपालीले भन्नुभयो ।

टोलीमा संलग्न केबुलकार इन्जिनीयर हरि तामाङले अहिले सिमभञ्ज्याङबाट प्रारम्भिक स्थलगत अध्ययन गरिएको र विस्तृत अध्ययनपछि केबुलकार निर्माण गर्ने ठोस निर्णयमा पुगिने जानकारी दिनुभयो । केबुलकारको निर्माणले सो क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने बताउँदै इन्जिनीयर तामाङले विस्तृत अध्ययनपछि उपयुक्त भएमा थाहा नगरपालिकाले पनि लगानी गर्ने बताउनुभयो ।

यस सन्दर्भमा भीमफेदी गाउँपालिकाका स्थानीय बासिन्दा रामप्रसाद आचार्यले मकवानपुर जिल्ला पर्यटकीयस्थलका लागि महत्वपूर्ण रहेकाले सरकारी र गैरसरकारी सहयोग आवश्यक रहेको बताउनुभयो ।रासस

प्रकाशित मिति : २०७५ कार्तिक २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *