२०८३ असार २४ गते बुधवार

लुम्बिनी प्रदेशको आगामी बजेट बहुमतले पारित


दाङ, असार २४ ।


लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक पारित गरेको छ
प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत बुधबार बसेको १७औं बैठकले प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक पारित गरियोस भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेका थिए ।
सभामुख तुलाराम घर्तीले उनको त्यो प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त प्रस्ताब प्रदेशसभाले बहुमतले पारित भएको थियो ।
प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि कुल ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट प्रस्ुतत गरेको थियो । बजेटमध्ये चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
असार २१ गतेदेखि प्रदेश सभामा नियमित छलफल सुरु भएको थियो । चार दिनसम्म सत्ता र प्रतिपक्षका प्रदेश सभा सदस्यहरूले बजेटका विभिन्न पक्षमा धारणा, सुझाव राखेका थिए । छलफलका क्रममा उठेका प्रश्नको जवाफ मुख्यमन्त्री आचार्यले दिएका थिए ।
बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जोखबहादुर महरा र नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले विशेष समयमा सम्बोधन गरेका थिए ।
सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पनि प्रदेश सभामा पेश गरेका थिए ।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *