घाइते सह सेनानी जोशीलाई हेलिकोप्टर मार्फत काठमाडौं पठाइयो
दाङ, असार ११ ।
कैलालीमा नेपाली सेनाको नियमित अभ्यासका क्रममा ग्रिनेट बम बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
सेनाको हुद्दा पदमा कार्यरत हिमाल बिक्रम बिष्टको उपचारका क्रममा मृत्यु भएको छ ।
अर्का घाइते सह सेनानी हिमराज जोशीलाई हेलिकोप्टर मार्फत काठमाडौंका लागि पठाइएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
डिएसपी तिमिल्सिनाका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका –३ गोराङ्गे स्थित सुदूर पश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट स्थानीय मोहन्याल गाउँपालिका –७ जालपा सामुदायिक वनमा फायरिङ भइरहेको अवस्थामा ग्रिनेड पडकाउने क्रममा नेपाली सेनाका हुद्दा हिमाल विक्रम बिष्टको दाहिने हातको हत्केला र छर्राले शरीरको अन्य भागहरुमा चोट लागेको थियो ।
ग्रिनेट बिष्फोट हुँदा नजिकै रहेका सहसेनानी हिमराज जोशीलाई पनि शरीरमा छर्रा लागेर घाइते भएका थिए ।
यो घटना बारे बिहीबार बिहान पौने १० बजेतिर नेपाली सेनाले इलाका प्रहरी कार्यालय चिसापानीमा खबर गरेको थियो । जतिखेर उनीहरुको उपचार सोही ब्यारेकमै भइ रहेको थियो ।
दुबै जना घाइतेलाई साढे १० बजेतिर लम्की स्थित लालरत्न अस्पतालमा उपचारका लागि पुर्याइएको थियो ।
घाइते मध्य बिष्टको मध्यान्ह १२ बजेतिर मृत्यु भएको थियो भने सह सेनानी जोशीलाई त्यसपूर्व थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरद्दारा काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।
बम बिष्फोटको घटना बारे सेनाले आन्तरिक रुपमा अनुसन्धान गर्ने भएको छ ।
