२०८३ जेष्ठ ८ गते शुक्रवार

सबैको भावना समेटेर बजेट ल्याउछौं – मुख्यमन्त्री आचार्य


तुलसीपुर, जेठ ८ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सबैको भावना समेटेर ल्याइने बताएका छन् ।

प्रदेश सुशासन केन्द्रले शुक्रबार भालुबाङमा आयोजना गरेको ‘कानुन, बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले आगामी वर्षको नीति कार्यक्रम तथा बजेट निर्माणको तयारी तीव्र रुपमा अघि बढाइएको बताए ।

उनले सबैको भावना समेटिने गरी नीति तथा कार्यक्रम तथा बजेट ल्याइने स्पष्ट पारे ।

प्रदेश सरकारले आगामी बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर निर्माण गर्ने तयारी गरेको छ । जस्मा चालु खर्च नियन्त्रण, पूँजीगत खर्चको प्रभावकारिता वृद्धि, सार्वजनिक खर्चमा मितव्ययिता तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

कृषि, उद्योग, पर्यटन, ऊर्जा तथा पूर्वाधार क्षेत्रमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको योजना छ । आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने क्षेत्रलाई विशेष प्राथमिकता दिइने भएको छ ।
युवा लक्षित सीप विकास, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्तनमा आधारित कार्यक्रममार्फत प्रदेशभित्रै रोजगारी सिर्जना गर्ने नीति ल्याउने जनाइएको छ ।
त्यस्तै डिजिटल शासन प्रणाली विस्तार गर्दै सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी तथा नागरिक मैत्री बनाइने भएको छ । राजस्व प्रशासन, सार्वजनिक खरिद, लेखा व्यवस्थापन तथा सेवा प्रवाहमा डिजिटल प्रणालीको प्रयोग बढाउने गरी सरकारले प्राथमिकताका क्षेत्र निर्धारण गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *