तुलसीपुर, फागुन १३ । तुलसीपुरमा सिलिण्डर बम बिष्फोट गराएको आरोपमा एक जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका – ५ सुन्दरनगर टोलका ३९ बर्षीय सजक भनिने शेरबहादुर दमाइ पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता रेशम बोहराले बताए ।
इलाका प्रहरी कार्यालय तुलसीपुर बाट खटिएको प्रहरी टोलीले दमाइलाई तुलसीपुर – १६ रावतगाँउबाट नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।
पक्राउ परेका दमाइका बिरुद्ध बुधबार बिष्फोटक पदार्थ सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला अदालतले दमाइ माथि थप अनुसन्धान गर्न बुधबार १० दिनको म्याद थप गरेको डिएसपी बोहराले बताए ।
फागुन ५ गते बिहान तुलसीपुर ६ र ८ को सीमानामा पर्ने पातुखोलामा ग्यास सिलिन्डर बिस्फोट गराइएको थियो । नेकपा (बहुमत) ले त्यो दिन नेपाल बन्दको घोषणा गरेको थियो ।
तुलसीपुरमा सिलिण्डर बम बिस्फोट गराएको आरोपमा प्रहरीले नेकपा (बहुमत)का अन्य थप तीन जना कार्यकर्ताको पनि खोजी भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
नेकपा (बहुमत)ले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदको चुनाव बहिस्कार गर्ने बताउँदै आएको छ । नेत्र बिक्रम चन्द (बिप्लव) बाट चोइटिएर धर्मेन्द्र बास्तोलाले नेकपा (बहुमत) गठन गरेका थिए ।
फागुन ५ को नेपाल बन्दका क्रममा मुलुकका बिभिन्न स्थानमा बिष्फोटक पदार्थ राखेको पाइएपछि हाल महासचिव बास्तोलापनि प्रहरी हिरासतमा छन् । उनी काठमाडौंबाट पक्राउ परेका थिए ।
