तुफानबाबु श्रेष्ठ, तुलसीपुर, पुस १२ । अमर माध्यमिक विद्यालय तुलसीपुर – ११ ले अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताक जितेको छ ।
रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा शुक्रवार भएको प्रतियोगितामा दुई सय अंक प्राप्त गर्दै अमर मावि प्रथम भएको हो । उस्ले नगद दश हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यस्तै एक सय ५५ अंक प्राप्त गर्दै हाम्रो पहुँच सेकेण्डरी बोर्डिङ स्कूल द्वितिय भयो । उस्ले नगद ६ हजार रुपैयाँ जित्यो । एक सय ४५ अंकसहित ज्ञान ज्योति मावि तृतिय भयो । उस्ले ४ हजार रुपैयाँ जित्यो ।
प्रतियोगितामा तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत गरी ११ वटा विद्यालयको सहभागिता थियो ।
रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सन्दीपन रिजालको अध्यक्षता तथा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का पूर्व अशिष्टेन्ट गभर्नर विमल रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिजालले पछिल्लो समय विद्यार्थी जीवन केवल किताबि ज्ञानमा सीमित हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
उनले जीवन उपयोगी ज्ञान, समसामयिक विषय बोध, तार्किक क्षमता र आत्मविश्वास विकासका लागि हाजिरी–जवाफ प्रतियोगिता जस्ता बौद्धिक अभ्यासहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताए ।
‘विद्यार्थीको बौद्धिकताको वास्तविक मापन कक्षा कोठाभित्र लिइने परीक्षाबाट मात्र सम्भव हुँदैन,’ रिजालले भने ‘हाजिरी–जवाफ जस्ता प्रतियोगिताले बालबालिकामा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै समूहमा काम गर्ने क्षमता, समय व्यवस्थापन, आलोचनात्मक सोच र आत्मनिर्भर बन्ने सीप अभिवृद्धि गर्छ ।’
यस्ता प्रतियोगिताले विद्यार्थीलाई केवल उत्तर दिन मात्र होइन, प्रश्न सोध्ने बानी, तार्किक तवरले सोच्ने क्षमता र आफ्ना विचार सार्वजनिक रूपमा प्रस्तुत गर्ने आत्मविश्वास पनि प्रदान गर्ने प्रमुख अतिथि रिजालले बताएका थिए ।
सामाजिक सेवामा सक्रिय रहँदै आएको रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरले शिक्षा क्षेत्रमा केही नयाँ गरौँ, बालबालिकामा रहेको ज्ञानलाई अझ अगाडि बढाऔँ भन्ने उद्देश्यसहित हरेक वर्ष जस्तै यो वर्ष पनि हाजिरी–जवाफ प्रतियोगिता आयोजना गरेको क्लबका भावी अध्यक्ष तथा कार्यक्रम संयोजक देवेन्द्र केसीले बताए
।
औपचारिक कार्यक्रमको सहजीकरण क्लबका सचिव सचिन पौडेलले गरेका थिए ।