तुलसीपुर , मंसिर २२ । दाङको तुलसीपुरमा बोल्न नसक्ने महिला माथि यौंन हिंसा गरेको आरोपमा छिमेकी पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका – १६ मा ५६ वर्षीया महिलालाई बलात्कार गरेको किटानी जाहेरी पछि छिमेकी ६० बर्षीय रुपलाल डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यो घटना मंसिर १६ गते बिहान साढे ५ बजेतिर घटेको जाहेरीमा उल्लेख छ । मंसिर २१ गते पीडित महिलाका श्रीमान इलाका प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिएका थिए । जाहेरी पछि सोही दिन राति प्रहरीले आरोपीलाई घरबाटै नियन्त्रणमा लिएको थियो ।
पीडित महिलाकी श्रीमान ज्याला मदजुरीको काम गर्छन । त्यो दिन उनी बिहान पाँच बजे नै कामका लागि घरबाट निस्किएको मौका छोपी डाँगी उनकी श्रीमति सुतिरहेको कोठामा पुगेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले आमा माथि भइ रहेको यौंन हिंसा छोराले प्रत्यक्ष रुपमा देखेपछि ६० बर्षीय छिमेकी पक्राउ परेको जानकारी दिए ।
आफ्नी बोल्न नसक्ने आमा माथि यौंन हिंसा गरि रहेको देखेपछि छोरा पुग्दा डाँगी भागेको पीडित महिलाका श्रीमानले जाहेरीमा उल्लेख गरेका छन् ।
पीडित महिलाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल स्वास्थ्य परिक्षण गरिएको थियो । जस्को रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार प्रहरीले डाँगीलाई म्याद थपका लागि जिल्ला अदालतमा पुर्याएको छ ।
