दाङ, मंसिर २२ । दाङ तुलसीपुरका एक युवकको बर्दियामा हत्या भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका – ५ का २८ बर्षीय निरज चौधरीको बर्दियाको राजापुर नगरपालिका – ४ स्थित ‘हमार थारु घर एण्ड रेष्टुँरेण्ट’भित्रै गोली प्रहार गरि हत्या गरिएको प्रहरीले आशंका गरेको छ ।
बर्दियाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार घटना पछि ‘हमार थारु घर एण्ड रेष्टुँरेण्ट’का संचालक फरार छन् ।
फरार रेष्टुँरेण्ट संचालक पनि दाङकै हुन । हत्या गरिएका निरज उक्त रेष्टुँरेष्टको नजिकै एउटा पोल्ट्री फर्ममा काम गर्थे । हत्या घटनाका मुख्य अभियुक्त मानिएका फरार ब्यक्ति र निरज यसअघि एउटै कोठामा बस्ने रुम पाटनर पनि रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
निरजको दुबै तर्फको गालामा गोलीले छेडेको जस्तो घाउ खतहरु देखिएको हुँदा उनी माथि गोली प्रहार भएको आशंका गरिएको भएपनि पोष्ट मार्टम रिपोर्ट आइ सकेको छैन ।
हत्या गरिएका निरजका बाबु आमा रोजगारीको खोजीमा छिमेकी देश भारतमा बस्दै आएको हुँदा उनीहरु आएपछि मात्रै पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ । निरजका बाबु आमालाई खबर पुगि सकेको र उनीहरु आउन थालेको पनि प्रहरीले जानकारी दिएको छ ।
निरजको शब बाँकेको नेपालगंजस्थित नसिंह होममा राखिएको छ ।
सामान्ने बिबाद पछि गोली चलाए पछि रेष्टुँरेष्ट संचालकले नै निरजको उपचारका लागि दुई जनालाई गुपचुपमा उपचारका लागि नेपालगंज लैजान लगाएर आँफु फरार भएका थिए ।
प्रहरी अनुसन्धान बाट घटना आइतबार बिहान ११ बजेतिर घटेको खुलेको छ । उपचारका लागि बाँकेको नेपालगंजस्थित नसिंह होममा पुर्याउनासाथ चिकित्सकले निरजलाई मृत घोषणा गरेका थिए । त्यसपछि बल्ल बाँके प्रहरीले घटना बारे बर्दिया प्रहरीलाई सूचना दिएको थियो ।
निमित्ति प्रहरी निरीक्षक कार्कीका अनुसार घटनामा संलग्न आशंकित मध्य दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइ रहेको छ । मुख्य अभियुक्त मानिएका फरार रेष्टुँरेष्टका संचालक दाङका ब्यक्तिको ब्यापक रुपमा खोजी भइ रहेको छ ।
आफ्नै पूर्व रुम पाटनरलाई आफ्नै रेष्टुँरामा संचालक आँफैले किन हत्या गरे भन्ने बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
फरार अभियुक्त पक्राउ परेपछि थप कुरा भन्न सजिलो हुने बताउँदै प्रहरीले लेनदेनको बिषयमा भनाभन हुँदा आवेशमा आइ रेष्टुँरष्ट संचालकले गोली चलाएको हुन सक्ने आशंका गरेको छ ।
स्रोतका फरार रेष्टुँरष्ट संचालकले हत्या गरिएका आफ्ना पूर्व रुम पाटनर निरजलाई बिदेश पठाइदिने भन्दै केही पैंशा लिएका थिए । सोही पैंशा माग्दा दुई जनाको बीचमा बिबाद भइ रेष्टुँरष्ट संचालकले निरजको हत्या गरेको हुन सक्ने प्रहरीको पूर्व अनुमान छ ।
घटनाबारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले बताएको छ ।
